नेकपालाई काेराेना लागेकाे छैन र लाग्न पनि दिईन्न : मन्त्री भट्टराई
ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईले नेकपालाई कोरोना नलागेको बताउनुभएकाे छ । उहाँले पाटीमा देखिएकाे सामान्य विवाद माैसमी रुघाखोकी भएकाे बताउदै पाटीलाई काेराेना लाग्न नदिने दाबी गर्नुभयो । पार्टी भित्र हुने बहस र छलफललाई पार्टी फुट्नै लाग्यो भनेर प्रचार गरिएकोप्रति लक्षित गर्दै मन्त्री भट्टराईले नेकपालाई कोरोना नलागेका कारण पार्टी थप सुदृढ भएर जनताका माझमा आउने दाबी गर्नुभएको छ ।
साताव्यापी गृह जिल्ला ताप्लेजुङको भ्रमणमा रहेका राजनीतिक दलका भातृसंगठनका प्रमुख तथा प्रतिनिधिहरुसंगकाे अन्तरक्रियाका मन्त्री भट्टराई लामो समय जेल जीवनमा रहेर पनि पार्टीको संगठन बनाउन क्रियाशील रहेका प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र लामो संघर्षबाट आएको व्यक्ति पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेकाले उनीहरु दुबै जना समक्ष नेतृत्व रहेको बताउनुुुभयाे । ओलीको अढेस लागेर प्रचण्ड, प्रचण्डको अढेस लागेर माधब नेपाल र अरु नेताविरुद्द विद्रोह गर्ने प्रवृत्ति स्वीकार्य नहुने मन्त्री भट्टराईको भनाई थियो ।
‘ओलीको अढेस लागेर प्रचण्ड विरुद्द लाग्ने, प्रचण्डको अढेस लागेर माधब नेपाल विरुद्द बिद्रोह गर्ने, अरु नेताको विरुद्दमा बीष बमन गर्ने काम नगर्न म सबै नेताहरुलाई अनुरोध गर्दछु’ मन्त्री भट्टराईले भन्नुभयो ‘पार्टी संक्रमणकालिन अवस्थामा नै छ, यो संक्रमणकालिन व्यवस्था महाधिवेशन हुँदै गएपछि हट्दै जान्छ र पार्टी थप सुदृढ भएर जनताका माझमा आउँछ ।’
उहाँले महाधिवेशन नजिकिएकाले आफ्नो नेताको पक्षमा खाइ नखाई लागेपनि हुने बताउँदै अहिलेकै संक्रणकालिन अवस्थालाई टेकेर कुनै एक नेताको पिठ्यूँ चढेर अर्को नेताविरुद्द बीष बमन नगर्न आग्रह समेत गर्नुभएको छ । उहाँले नेतृत्वले आफू कसका विरुद्द र कसरी प्रयोग भईरहेको छु भन्ने ठम्याईरहेको दाबी गर्दै सधैँ यसैगरी एकका विरुद्द अर्को नेता प्रयोग भईरहन दोस्रो पुस्ताले नदिने र हस्तक्षेप गर्न पनि पछि नपर्ने चेतावनी दिनुभएकाे हाे ।



















