पर्यटनमन्त्रीद्वारा पर्यटकिय क्षेत्र माछापोखरीको अवलोकन
ताप्लेजुङ, । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटकीयस्थल माछापोखरीको अवलोकन गर्नुभएको छ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं. ५ चाँगेस्थित माछापोखरीको बुधबार मन्त्री भट्टराईले भ्रमण तथा अवलोकन गर्नुभएको हो ।
धार्मिक महत्वलेसमेत ऐतिहासिक पर्यटकीयस्थलको रुपमा रहेको माछापोखरीको अवलोकन गर्नुहुँदै मन्त्री भट्टराईले बढीभन्दा बढी पर्यटक भिœयाउनेगरी आवश्यक प्रचारप्रसार, पूर्वाधार निर्माण तथा व्यवस्थापनमा जोड दिन स्थानीयलाई सुझाव दिनुभयो । पर्यटक आकर्षणको राम्रो सम्भावना बोकेको स्थल भएकाले माछापोखरीलाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो ।
तत्कालका लागि आन्तरिक पर्यटकलाई मात्र भिœयाउन सकेपनि भविश्यमा विदेशी पर्यटकलाई समेत माछापोखरीको भ्रमण गराउने सकिने अवस्था देखिएको मन्त्री भट्टराईले बताउनुभयो । नेपालकै एक मुख्य पर्यटकीय गन्तव्य तिनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्र नजिक रहेको माछापोखरीलाई थप पूर्वाधारसहित पर्यटकीय स्थलका रुपमा विकास गर्न सकेमा टीएमजे भ्रमणमा आएका विदेशी पर्यटक माछापोखरीसम्म पुग्नसक्ने उहाँको भनाइ थियो ।
यता आठराई त्रिबेणी गाउँपालिकाले पनि माछापोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि बजेट विनियोजनसहित योजना बनाउन थालेको छ । माछापोखरी क्षेत्रलाई आकर्षक बनाउनका लागि त्यहाँ रहेका मन्दिर लगायतका संरचना, सडक निर्माण लगायतका कार्य गर्न सुरु गरिएको आठराई त्रिबेणी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिनुभयो ।
यस क्षेत्रमा स्वच्छ पानी भएको सानो पोखरीमा भएका विशेष प्रजातिको माछाको अवलोकन गर्न सकिन्छ भने त्यही पोखरीबाट निकास हुने आधा दर्जनभन्दा बढी पानीको धारा, ढुङ्गे ओखल, किराँत तथा शिवलाय मन्दिर माछापोखरी क्षेत्रको आकर्षणका केन्द्र हुन् । हाल निक्कै सङ्ख्यामा आन्तरिक पर्यटकले माछापोखरीको भ्रमण गर्ने गरेका स्थानीय सागर आङ्बुहाङले जानकारी दिनुभयो ।


















