ताप्लेजुङमा विपन्नको घर जस्तापाताले छाउन सुरु

वेलकम खबर
कार्तिक २५, २०७७

ताप्लेजुङ। ताप्लेजुङमा विपन्न परिवारका घरमा फुस (खर) को छाना विस्थापन गरी जस्तापाता लगाउन थालिएको छ । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत फुसरहित घर निर्माणका लागि छनोटमा परेका परिवारको घरमा जास्तापाताको छाना लगाउन थालिएको हो ।

शहरी विकास तथा निर्माणअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना झापाले ताप्लेजुङका विपन्न परिवारका घरको फुसको छाना हटाएर जस्तापाता (टिन) को छाना लगाई दिन थालेको हो । कार्यक्रमअन्तर्गत जिल्लाको मैवाखोला गाउँपालिका वडा नं. ३ साँघुको ओदकमा आयोजनाले लाभग्राही अर्थात विपन्न ३० परिवारको घरको फुसको छाना हटाई जस्तापाताले छाई दिएको छ ।

SONY DSC

शेर्पा समुदायको मात्र बसोबास रहेको ओदकका विपन्न ३० परिवारको घरमा जास्तापाताले छाना छाउने कार्य सम्पन्न भएसँगै मङ्गलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्नुभएको छ । सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनसँगै जस्तापाताले छाएको विपन्नको घरको उद्घाटन गर्नुहुँदै मन्त्री भट्टराईले फुस र चित्राको छाना विस्थापनले नागरिकलाई ठूलो राहत पुगेको बताउनुभयो । घरको छाना जस्तापाताले छाएपछि विपन्नले वर्षादको समयमा चुहिने घरमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ थियो ।

मैवाखोला गाउँपालिकाको छ वटै वडाका एक सय ७४ घरमा जस्तापाताले छाउने योजना स्वीकृत भएको छ । उक्त सङ्ख्यामध्ये हाल ३० परिवारको घरमा जस्तापाता छाइसकिएको हो भने बाँकी परिवारको घरमा क्रमशः जस्तापाताले छाना छाउने प्रक्रिया रहेको गाउँपालिका अध्यक्ष राजनकुमार थक्लुङले बताउनुभयो । भवन निर्माण आयोजनाबाट प्रतिपरिवार ५० हजार रुपियाँका दरले बजेट निकासा भई विपन्नको घरमा जस्तापाताले छाउने कार्य अगाडि बढाएको अध्यक्ष थक्लुङले जानकारी दिनुभयो ।

नौ वट स्थानीय तह रहेको ताप्लेजुङमा विपन्न एक हजार ८१४ परिवारको घरमा फुसको छाना हटाएर जस्तापाताले छाइने भएको छ । मैवाखोलाबाहेक फुङ्लिङ नगरपालिकामा एक सय ९० परिवार, फक्ताङ्लुङ गाउँपालिकामा दुई सय ४५, सिरिजङ्घा गाउँपालिकामा एक सय ६७, सिदिङ्वा गाउँपालिकामा दुई सय ९०, पाथीभरा याङ्वरक गाउँपालिकामा दुई सय, मेरिङ्देन गाउँपालिकामा एक सय ८८, आठराई त्रिबेणी गाउँपालिकामा दुई सय १३ र मिक्वाखोला गाउँपालिकामा एक सय ४७ परिवारको घरमा जस्तापाताले छाइने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*