प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफल निष्कर्षविहीन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’बीच आज भएको झण्डै तीन घण्टाको छलफल बिनानिश्कर्ष सकिएको छ।
पार्टीको आन्तरिक तिक्तता बाहिर आइरहेका बेला दुई अध्यक्षले त्यसबारे छलफल गरी समाधानको प्रयासमा जुटेका छन्। तर, आज भएको भेटवार्तामा खास सहमति जुट्न नसकेको स्रोतको भनाई छ। पार्टीका दोस्रो तहका नेताहरुले देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय नै सक्रिय हुनुपर्ने सुझाव र दवाव दिएपछि दुई अध्यक्षबीचको नियमित संवाद पुनः शुरु भएको छ।
यसअघि लामो समयसम्म दुई अध्यक्षबीच छलफल र संवाद हुन नसक्दा पार्टीको आन्तरिक विवाद सतहमा आएको थियो । बैठकमा भएको छलफल बारे विस्तृतमा जानकारी गराइएको छैन।
सत्तारुढ दल नेकपामा सरकारले गरेको राजदूतको नियुक्ति सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णालीमा देखिएको विवाद र रअका प्रमुखको नेपाल आगमनसमेतलाई लिएर विवाद देखिएको थियो।



















