अमेरिकी राष्ट्रपती निर्वाचन : बाइडन जीतको नजिक पुगेपछि अदालती प्रक्रियामा गए ट्रम्प

वेलकम खबर
कार्तिक २०, २०७७

एजेन्सी। अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक पुगेका छन्। द न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएका छन्।

उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन्। यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले जितेका थिए।

अब मतगणनाको नतिजा आउन बाँकी रहेका ६ राज्यमध्ये बाइडन एरिजोना र नोभाडामा अगाडि छन्। बाइडनले आफूले अहिले अग्रता लिएका दुई राज्यमा मात्र जित हात पारेको खण्डमा त्यो उनलाई ४६ औं राष्ट्रपति बनाउन पर्याप्त हुनेछ।

यद्यपि यी दुवै राज्यमा बाइडन र ट्रम्पको ठूलो अन्तर भने छैन। यस्तोमा नतिजा जसको पक्षमा पनि जान सक्छ। ट्रम्पले भने अहिलेसम्म २१४ इलेक्टोरल कलेज भोट पाएका छन्। तर, उनी पेन्सिल्भेनिया, जर्जिया र नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यमा अगाडि छन्।

तर, पेन्सिल्भेनियामा गणना गर्न बाँकी रहेका मेलबाट गरिएको मत डेमोक्रेटिक पार्टीका उम्मेदवारको खातामा जानसक्ने अपेक्षा गरिएको छ। पेन्सिल्भेनियाका अधिकारीहरुले शुक्रबारसम्म अधिकांश मतगणनाको काम सकिने बताएका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया पेन्सिल्भेनिया र मिशिगनमा अदालती प्रक्रिया सुरु गरेका छन्। उनले तत्काल मतगणना रोकिनुपर्ने माग गर्दै कानुनी प्रक्रिया सुरु गरेका हुन्।

उनले यी राज्यको मतदानमा ‘धोकाधडी’ भएको बताएका छन्। यद्यपि उनले यस विषयमा कुनै प्रमाण भने पेश गरेका छैनन्। अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि व्यापक मात्रामा ‘धोकाधडी’ भएको कुनै प्रमाण नभेटिएको उल्लेख गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*