कोरोना बीमाको दाबी भुक्तानी एक साता भित्रै पाइने
काठमाडौं। कोरोना बीमाको रकम भुक्तानीको दाबी गरेको एक हप्ताभित्रै भुक्तानी पाइने भएको छ। अर्थमन्त्री विष्णु पौडेल, अर्थ सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ, बिमक सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको अर्थ मन्त्रालयमा बसेको बैठकले बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितहरूलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय गरेको हो।
बैठकले दाबी गरेको एक हप्ताभित्र रकम पाए/नपाएको अनुगमन र समन्वय बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ। अर्थमन्त्री पौडेलले बिमितहरूले बीमाङ्क रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिए।
यस्तै कोरोना बीमाको दाबी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरूको सुनुवाइ गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरूलाई निर्देशन दिन हटलाइन टेलिफोनसहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ।
अहिलेसम्म १७ लाख ७० हजार नौ सय जनाले कोरोना बीमा गरेकोमा १३ हजार तीन सय ५३ जनाले बीमा भुक्तानी दाबी गरेका छन् तर जम्मा एक हजार चार सय ४१ जनालाई मात्रै बीमा कम्पनीले भुक्तानी दिएका छन्। बीमा कम्पनीले बीमितबाट एक अर्ब एक करोड ९१ लाख रुपैयाँ सङ्कलन गरे पनि बीमा भुक्तानी नदिएको भन्दै बीमा कम्पनी र सरकारको चौतर्फी आलोचना भइरहेको छ।



















