कक्षा–१२ को परीक्षा समय डेढ घन्टा मात्र

वेलकम खबर
कार्तिक १६, २०७७

काठमाडौं। ९ मंसिरदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने भएको छ। अघिल्ला वर्षको मोडेल अनुसरण गर्दै डेढ घन्टामा हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ। ले सैद्धान्तिक परीक्षाको अङ्कलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्याङ्कनका लागि मात्र परीक्षा लिँदै छ। बाँकी ४० प्रतिशत मूल्याङ्कनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ।

र, २० प्रतिशत आन्तरिक मूल्यांकन हुने गरी कार्यविधिमा उल्लेख छ। जस्तो– ८० पूर्णाङ्कको विषय छ भने त्यसको ४० प्रतिशत अर्थात् ३२ अङ्कका लागि मात्रै परीक्षा लिइनेछ । सैद्धान्तिक र प्रयोगात्मकको अङ्क विषयअनुसार फरक छन्। प्रश्नपत्र पुरानै मोडेलमा भए पनि प्रश्न संख्या घट्ने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए। ‘प्रश्न सोधिने समूह विगत जस्तै हुन्छन्, भार मात्र घट्ने हो। तर, सबै कोर्स समेट्ने गरी प्रश्न सोधिने भएकाले विद्यार्थीले सबै युनिट पढ्नुपर्छ,’ उनले भने। मुख्य विषयका मोडेल प्रश्न तयार गरी १९२ दिनमा बोर्डको वेबसाइटमा राखिने उनले जानकारी दिए।

अघिल्ला वर्षमा ८० पूर्णाङ्कको विषयमा समूह ‘क’मा चार प्रश्न सोधेर तीनवटा हल गर्न दिइन्थ्यो भने अहिले एउटा मात्र हल गर्न दिने व्यवस्था हुँदै छ। विगतमा जति समूह थिए या लामो वा छोटो उत्तर आउने प्रश्न सोधिन्थ्यो, अहिले त्यही शैलीमा प्रश्न तयार गरिँदै छ। तर, प्रश्नको संख्या घट्नेछ। कोभिड–१९ का कारण विद्यार्थीलाई परीक्षा दिन सहज बनाउने उद्देश्यले तीन घन्टाको साटो डेढ घन्टा समय र ४० प्रतिशत मात्र मूल्यांकन गर्न लागिएको हो। सरकारले परीक्षा सञ्चालनमा सहमति दिएपछि ९ मंसिरदेखि सुरु हुने गरी बोर्डले तालिका सार्वजनिक गरिसकेको छ।

८ वैशाखदेखि सञ्चालन हुने तय भएको कक्षा–१२ को परीक्षा कोरोना संक्रमण बढेपछि स्थगित भएको थियो। नयाँ तालिकाअनुसार बिहान ८ देखि साढे ९ बजेसम्म परीक्षा सञ्चालन हुनेछ। कक्षा–१२ को फारम भरेका सबै विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ। त्यसअनुसार देशभर चार हजार एक सय पाँचवटा परीक्षा केन्द्र कायम भएका छन्।विद्यार्थी आफैँले पढेको विद्यालयमा पुग्न सम्भव नभएमा हाल विद्यार्थी रहेको जिल्लाको नजिकको विद्यालयमा परीक्षा लिने व्यवस्था मिलाइएको छ। काठमाडौं उपत्यकामा भने सम्बन्धित विद्यालयमै परीक्षा दिन जानुपर्नेछ । बोर्डले परीक्षाका लागि प्रवेशपत्र अनिवार्य गरेको छ । कक्षा–१२ मा चार लाख ३३ हजार ६ सय परीक्षार्थी छन्।

कुनै परीक्षार्थी यसबीचमा कोरोना संक्रमित भए या आइसोलेसनमा बसेको पाइए निको भएपछि परीक्षा लिने व्यवस्था मिलाइएको छ। बोर्ड अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलका अनुसार कोभिड–१९ पजिटिभ रिपोर्ट विद्यालयमा पेस गरेपछि त्यसको कम्तीमा १५ दिनपछि परीक्षा लिने व्यवस्था मिलाइनेछ। परीक्षा हलमा विद्यार्थीलाई कम्तीमा दुई मिटर दूरीमा राख्ने व्यवस्था छ। पौडेलका अनुसार परीक्षा दिन आउँदा कसैलाई रुघा वा ज्वरो आएमा छुट्टै बसेर जाँच दिलाइनेछ। जति ठूलो हल भए पनि हरेक २० भन्दा बढी विद्यार्थी राख्न पाइनेछैन। परीक्षा केन्द्रमा मास्कलगायत स्वास्थ्य सामग्री प्रयोगलाई अनिवार्य गरिएको छ।

देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमध्ये एक सय ३८ वटामा १० भन्दा कम परीक्षार्थी हुने भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार ५० भन्दा कम परीक्षार्थी रहेका केन्द्रको संख्या पनि धेरै छ। नयाँ पत्रिका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*