सार्वजनिक यातायातमा भाडा लिस्ट नटाँसे कारबाही
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण (लिस्ट) नटाँस्ने सवारीसाधनलाई कारबाही गर्ने अभियान थालेको छ।शुक्रबारदेखि अभियानकै रूपमा सुरू गरी ४२९ वटा सवारी साधनमा टाँसेको महाशाखाले जनाएको छ। भने, शनिबार पनि उक्त अभियानलाई निरन्तरता दिइरहेको छ।
सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तव्यसम्मको भाडादर सजिलै जानकारी होस् भनेर अभियान थालिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए। ‘यात्रु ठगिनबाट रोक्नका लागि सबैले देखिने ठाउँमा भाडादरको लिस्ट सवारीमा अनिवार्य राख्न कडाइ गरेको हो,’ उनले भने। सवारीसाधनले त्यस्तो लिस्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने उनको भनाइ छ।
महाशाखाले शुक्रबारदेखि अभियानकै रूपमा सवारीसाधनको चेकजाँच थालेको छ। यात्रुवाहक सवारीसाधनले तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लंघन गरेको गुनासो आएपछि काठमाडौं उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको महाशाखाका प्रवक्ता एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए।
सडक र सवारी प्रयोगकर्ताहरूलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनुपरेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ। त्यस्तै महाशाखाले सवारीसाधनमा ठूलो आवाज आउने बनाउने, मोडिफाई गर्ने, हर्न बजाउने, ढोका खुला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई यसै अभियानमार्फत कारबाही गरिरहेको जानकारी दिएको छ।


















