यस वर्षको दशैँमा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अहिले सम्मकै कम

वेलकम खबर
कार्तिक १५, २०७७

काठमाडौं। कोरोना भाइरसको महामारीको त्रासका कारण यो वर्षको दसैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन्। विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो। योे वर्ष भने केही लाखले मात्रै आवतजावत गरेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिए।

गत वर्ष कूल ३० लाखले उपत्यका छाडेका थिए भने १८ लाख भित्रिएका थिए। यो वर्षको दशैँमा भने तीन लाखले उपत्यका छाडे। झण्डै दुई लाख भित्रिएका ट्रफिक प्रहरीको तथ्यांक छ। कोरोना भाइरस महामारीका कारण यसरी यात्रु आवागमनमा प्रत्यक्ष प्रभावित भएका हुन्। दशैँ सकिएपछि पनि उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढ्न सकेको छैन। कात्तिक १३ गते २४ हजार यात्रु भित्रिएका छन् भने २० हजार बाहिरिएको विवरणले पनि उक्त कुराको पुष्टि गर्छ।

पछिल्लो समयमा उपत्यकामा कोरोना सङ्क्रमणको उच्च जोखिम छ। मुलुकभर देखिएको कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा रहेकाले पनि मानिस राजधानी आउन डराइरहेका जनस्वास्थ्य विज्ञको भनाइ छ। सङ्ख्यात्मक रुपमा विश्लेषण गर्दा यसवर्ष इतिहासमै पहिलो पटक मानिसको आवागमन न्यून भएको प्रहरीको दाबी छ। २०७१ पछिको विवरणमा वि. सं २०७१ र २०७२ मा उपत्यकामा सबैभन्दा कम यात्रुको आवागमन भएको पाइन्छ।

वि. सं २०७१ को दशैँमा ६५ हजार सवारी साधनमार्फत आठ लाख यात्रु बाहिरिएका र ५१ हजार सवारी साधानमार्फत पाँच लाख मानिस भित्रिएका थिए। यस्तै २०७२ सालमा ५९ हजार सवारी साधानमार्फत आठ लाख ३० हजार यात्रु बाहिरिएका र ५६ हजार सवारी साधनमार्फत पाँच लाख १६ हजार यात्रु भित्रिएका थिए।

वि. सं २०७३ देखि २०७६ सम्म यात्रु भित्रिने र बाहिरिने अवस्था ह्वात्तै बढेको थियो। यो वर्ष भने सबै भन्दा कम यात्रुको चहलपहल देखियो। नयाँ संविधान निर्माण भई सङ्घीयता कार्यान्वयनको समयमा शान्ति प्रक्रिया टुङ्गोमा पुगेको र शान्ति-सुरक्षा अब्बल बन्दै गएकाले वातावरण सहज हुँदा यात्रुलाई एक ठाउँबाट अर्को स्थानमा जानआउन समस्या थिएन।

तर यो वर्ष गत चैतबाट बढेको कोरोना महामारीले चाडबाडलाईसमेत नराम्ररी प्रभावित बनाएको तथ्याङ्कले देखाएको छ। प्रहरी प्रवक्ता कुबेर कडायत यो वर्ष दशैँको बेलामा सवारीसाधन र यात्रुको आवतजावत कम हुँदा ठूला दुर्घटनासमेत नभएको बताउँछन्। बजारमासमेत चहलपहल कम हुँदा आपराधिक घटनामा समेत कमी देखिएको उनको भनाई छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*