ताप्लेजुङको तोक्पेगोला क्षेत्रको डकुमेन्ट्री पर्यटनमन्त्री भट्टराईद्धारा सार्वजनिक (भिडियोसहित)
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित तोक्पेगोला क्षेत्रको डकुमेन्ट्री सार्वजनिक गरेका छन्। प्राकृतिक तथा जैविक विविधताले भरिपूर्ण तोक्पेगोला बस्तीलाई केन्द्र बनाएर बनाएको डकुमेन्ट्री बुधवार सिंहदरबारमा एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन।
ताप्लेजुङकै दुई युवा हेमराज निरौला र गोपाल खनालले स्थलगत भ्रमण गरी निर्माण गरेको डकुमेन्ट्री नयाँ पेज डटकम र नयाँ पेजको युट्युब च्यानलमार्फत गरिएको हो। कार्यक्रममा नेकपा पर्यटन विभाग उपप्रमुख पासाङ शेर्पा, पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मी लगायत पर्यटन व्यवसायीको उपस्थिति रहेको थियो।

कार्यक्रममा मन्त्री भट्टराईले ताप्लेजुङ जिल्ला पर्यटनको लागि अग्रणी जिल्ला भएको बताए। उनले भने, ‘नेपाल अत्यन्तै सुन्दर देश हो। पूर्वदेखि पश्चिमसम्मै सुन्दर छ। तराईदेखि पहाड हिमाल सम्मै सुन्दर छ। हिमाल क्षेत्रमा पश्चिम अपि देखि पूर्व सम्मै सुन्दर छ। हिमाली भेगमा ताप्लेजुङ अग्रणी जिल्लाको रूपमा रहेको छ। ताप्लेजुङमा सानो ठूला गरी ३०० भन्दा बढी पोखरी, हिमतालहरू रहेको छ। तर सगरमाथा क्षेत्रमा जति पर्यटनमा अगाडि छ। तर पूर्व तिर छैन।’
यस्तै उनले पूर्वी क्षेत्र पर्यटनको भर्जिन ल्यान्ड भएको बताउँदै डकुमेन्ट्रीले प्रचारप्रसारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। ‘पूर्वी भेग तीर पर्यटनको भर्जिन ल्यान्ड हो। क्रमशः नेपालको पूर्व तीर पर्यटन बढेको छ। तोक्पेगोलाको क्षेत्रको स्थलगत भ्रमण गरी बनाउनु भएको यस डकुमेन्ट्रीले प्रमोसन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यसले आन्तरिक पर्यटन पनि बढाउँछ। व्यावसायिक ढङ्गले पनि विकास हुनेछ। अन्तर्राष्ट्रिय हिसाब पनि सिमसार सूचीकृत अभियान चलिरहेको छ।’ उनले भने।

यस्तै उपप्रमुख पासाङ शेर्पाले उक्त क्षेत्र संस्कृतिसँग पनि जोडिएको बताउँदै पर्यटनको नयाँ गन्तव्य बन्ने बताए। उनले भने, ‘मेरो आफ्नो जन्मभूमिको सुन्दर भिडियो बनाई दिएकोमा हेमराज जी लगायतको टिममा मुरीमुरी धन्यवाद ज्ञापन गर्दछु। यस क्षेत्रमा हाम्रो संस्कृतिसँग पनि जोडिएको छ। यो पर्यटनको नयाँ गन्तव्य बन्न सक्छ। यो गाडी निःषेध, प्लास्टिक निःषेध, कङक्रिट निषेध क्षेत्र हुनेछ।’
तोक्पेगोला समुद्र सतहदेखि ४ हजार १ सय मिटर उचाइमा पर्छ। उक्त बस्तीमा ढोक्प्या जातिको बसोबास रहेको छ। स्थानीय ढोक्प्या जाति भनिए पनि सिमान्तकृत समूहमा तोक्पेगोला भनी सूचीकृत गरिएको छ। झुरुप्प घर, काठले छाएको छानो, भोटे झ्याल भएको बस्ती रहेको छ। यस क्षेत्र सदरमुकामदेखि गाडीमा दोभान–नाल्बु–पापुङसम्म गाडी चल्छ। अर्कोदिन हिँडेर तोक्पेगोला पुगिन्छ। nayapage (phot0 nayapage)



















