विश्वरूप मन्दिर पुनर्निर्माण गर्न पुरातत्व विभागको स्वीकृति

वेलकम खबर
कार्तिक १४, २०७७

काठमाडौं। २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनर्निर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संरक्षण ऐनले व्यवस्था गरेको छ।

विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण भत्किएको पाँच वर्षसम्म पनि विश्वरूप मन्दिर पुनःनिर्माण सुरु हुन सकेको थिएन। पशुपति क्षेत्र विकास कोषले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर पुनर्निर्माण सुरू गर्न १० करोड बजेट विनियोजन गरेको छ।

मन्दिरसहित वरिपरिको सत्तल पुनःनिर्माणका लागि ७० करोड बजेट लाग्ने अनुमान गरिएको कोषका सदस्य सचिव डा। प्रदीप ढकालले जानकारी दिए। बहुवर्षीय योजनाअन्तर्गत आव २०७८र२०७९ सम्ममा मन्दिर क्षेत्रको पुनर्निर्माण सक्ने लक्ष्य कोषले लिएको छ।

पुनर्निर्माणका लागि ठेक्काको प्रक्रिया सुरू भइसकेको कोषका निर्देशक भरत मरासिनीले बताए। यो महिनामै ठेक्का गर्न लागिएको उनले जानकारी दिए। विभागबाट स्वीकृति प्राप्त भए पनि लागत पूर्वानुमानको पुनःसमीक्षा भने जारी रहेको कोषले जनाएको छ।

हनुमानढोकाको लायकू बहाल क्षेत्रमा बेवारिसे रहेको मूर्तिलाई जङ्गबहादुर राणाले आफ्नो शासनकालमा पशुपति क्षेत्रको मृगस्थलीमा स्थापना गरेको इतिहास छ। प्रतिमाशास्त्रका पुस्तकहरूमा विश्वरूपको वर्णन गर्दा ब्रह्मा, विष्णु र महेश्वरलगायत सबै देवता समाहित भएको उल्लेख गरिएको छ।

धेरै बाहु, शिर, पाउ भएको विश्वरूप व्यापक र जन्म मृत्युको कारण भएको ती ग्रन्थमा उल्लेख छ। पुराणहरूमा शिव, विष्णु र ब्रह्मालगायत अरू देवीदेवताको पनि विशिष्ट र व्यापक स्वरूपलाई विश्वरूप भनी उल्लेख गरिएको छ। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*