मोदीले दूत पठाउँछु भने, को पठाउनुहुन्छ भनेर प्रश्न गर्न मिलेन, सामन्त पो पठाएछन्! : प्रधानमन्त्री
काठमाडौं। नेकपाको विवाद उत्कर्षतिर अभिमुख हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्रीहरू पुनः काठमाडौंमा सक्रिय हुन थालेका छन्। शङ्कर पोखरेलले प्रधानमन्त्री ओलीको सन्देश बोकेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमटार र बालुवाटार ओहोरदोहोर गरिरहेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पनि काठमाडौंमै छन्। ओलीनिकट नेताहरूले प्रचण्डसँग पनि संवाद लिइरहेका छन् साथै प्रधानमन्त्रीसँग पनि दिनहुँजसो छलफल गरिरहेका छन्।
उनीहरूले प्रचण्डसँगको असन्तुष्टिको कारण पनि बुझिरहेका छन्। ओलीनिकट नेताहरूले भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्तकुमार गोयलसँगको भेटबाट पनि चासो राखेका थिए। ‘हामीले प्रधानमन्त्रीलाई गोयल नै किन आए, उनीहरूले अरू राजनीतिक दूत किन पठाएनन्? भनेर पनि चासो राख्यौं।’ प्रधानमन्त्रीसँगको छलफलमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीले भारतले नै दूत पठाउँछु भनेको थियो तर सामन्त गोयल आएको भनेर जवाफ दिनुभयो।’
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच त्यहाँको स्वतन्त्रता दिवसका दिन टेलिफोन संवाद भएको थियो। त्यही दिन मोदीले दूत पठाउने प्रस्ताव गरेको ओलीको ब्रिफिङ थियो। ‘कुराकानीको अन्तिममा दूत आउँछन् भनेका थिए।’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘कूटनीतिक भेटमा को पठाउनुहुन्छ भनेर प्रश्न गर्न मिलेन। सामन्त पो पठाएछन्। पठाएपछि भेट्दिनँ, समान, बराबरी हैसियत भएन, पोर्टफोलियो मिलेन भनेर पन्छन पनि मिलेन। द्विपक्षीय वार्तामा बराबरी हैसियत खोज्ने होला, सन्देशवाहक पनि त्यही हैसियतको खोज्ने कुरा आएन।’
सामन्त गोयलसँग शिष्टाचार भेट मात्रै भएको र द्विपक्षीय वार्ता नभएको प्रधानमन्त्रीले प्रस्टीकरण दिएका थिए।



















