३२ मुलुकबाट १ लाख २३ हजार बढि नेपाली स्वदेश फर्किए, कुन देशबाट कति?

वेलकम खबर
कार्तिक १२, २०७७

काठमाडौं। कोरोना महामारीकै बीचमा विभिन्न ३२ मुलुकबाट नेपालीहरू स्वदेश फर्किएका छन्। कोरोना महामारी जोखिम न्यूनीकरणका लागि सरकारले गत चैतमा अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्दै हवाइ उडानमा समेत रोक लगाएकोमा बीचमा चार्टर उडानमार्फत समस्यामा परेका नेपालीलाई नेपाल ल्याउने निर्णय गरेको थियो।

त्यसयता आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर नेपाली स्वदेश फर्किन थालेकोमा पछिल्लो समय नियमित उडान समेत सञ्चालन हुन थालेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अनुसार मङ्गलबारसम्म १ लाख २३ हजार ४१२ नेपाली स्वदेश फर्किएका छन्। स्वदेश फर्किनेमा वैदेशिक रोजगारीको सिलसिलामा खाडी तथा मलेसिया पुगेका नेपालीहरू ठूलो सङ्ख्यामा रहेका छन्।

हालसम्म ३२ देशबाट नेपाली फर्किएकोमा जोर्डनबाट ५७७, साइप्रसबाट ६४, इराकबाट ३९ र भारतबाट ८५ नेपाली हवाइ उडानमार्फत स्वदेश फर्किएका छन्। भारतमा कार्यरत ठूलो सङ्ख्याका नेपाली स्थलमार्गबाट समेत नेपाल प्रवेश गरेका छन्। सिमानाकाबाट ठूलो सङ्ख्याका नेपाली अव्यवस्थित रुपमा नेपाल प्रवेश गर्दा कोरोना संक्रमण समेत देशमा ह्वात्तै बढेको बताइँदै आएको छ।

तथ्याङ्कअनुसार अफगानिस्तानबाट ५०, अस्ट्रेलियाबाट १ हजार १००, ओमानबाट २१ सय २६, कतारबाट २३ हजार ३, म्यानमारबाट २६, कुवेतबाट ९ हजार ९२३ र जापानबाट ३ हजार ५४१ नेपाली स्वदेश फर्किएका छन्। यसैगरी थाइल्याण्डबाट ४७७, दक्षिण कोरियाबाट १ हजार ८११, बङ्गलादेशबाट ९३०, मलेसियाबाट १७ हजार ९२४ नेपाली स्वदेश फर्किँदा माल्दिभ्सबाट १ हजार २६ नेपाली स्वदेश फर्किएका छन्।

यसैगरी श्रीलंकाबाट ६, युएईबाट ३५ हजार ६९५, साउदी अरेबियाबाट १७ हजार ३२२, सिंगापुरबाट ८५६, हङकङबाट ५४६, पाकिस्तानबाट १११, बहराइनबाट १ हजार ३३९, अमेरिकाबाट ४३७, बेलायतबाट २२९ र इजरायलबाट १२७ नेपाली स्वदेश फर्किएका छन्।

यसैगरी चीनबाट ५४०, फिलिपिन्सबाट २०१, स्वीट्जरल्याण्डबाट १० र  दक्षिण सुडानबाट २५० नेपाली स्वदेश फर्किएका छन्। नेपाल फर्किनेहरुलाई एयरपोर्ट झर्नेबित्तिकै सेनाको व्यवस्थापनमा होल्डिङ सेन्टरमार्फत सम्बन्धित प्रदेशहरूको समन्वयमा क्वारेन्टाइनमा पठाउने गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*