नेपाली गीत गाएर चिनियाँ राजदूतले दिइन् दशैंको शुभकामना
काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै दसैँको शुभकामना सन्देश दिएकी छिन्। राजदूत यान्छीले चर्चित नेपाली गीत ‘रेशम फिरिरि’ गाएकी हुन्।
सामाजिक सञ्जालमा गीत गाएको भिडियो पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘ मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस्।’
बुद्धि परियारले संकलन गरेको ‘रेशम फिरिरि‘’ पहिलोपटक सुन्दर श्रेष्ठ र द्वारिकालाल जोशीको स्वरमा रेडियो नेपालमा रेकर्ड भएको थियो। यो नेपालको चर्चित लोक गीत हो। सन् १९७० मा सार्वजनिक भएको यो गीत विदेशीहरुमाझ पनि चर्चित छ।
चिनियाँ राजदूत होउ नेपालीहरुको मन जित्ने प्रयासमा अनेक क्रियाकलाप गर्दछिन्। कहिले नेपालका ऐतिहासिक पुरातात्विक क्षेत्रमा गएर फोटो सेसन गर्छिन् भने कहिले नेपाली गीतमा, नेपाली पहिरन लगाएर नाच्छिन्।
गत वर्ष फागुनमा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चिनियाँ दूतावासले आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा राजदूत यान्छी नेपाली गीतमा नाचेकी थिइन्।
https://www.facebook.com/104650787831634/videos/1029165660890652


















