भारतीय प्रधानमन्त्रीको सन्देश लिएर ‘रअ’ प्रमुख नेपाल आएका हुन् : शंकर पोखरेल

वेलकम खबर
कार्तिक ९, २०७७

काठमाडौं। भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि त्यसको आलोचना भइरहेको छ। नेपालका राजनीतिक दलहरूलाई पनि गोप्य रुपमा भेटवार्ता गरेको भनिए पनि नेताहरूका सचिवालयले नै प्रेस नोट जारी गरेर प्रष्ट पारिसकेका छन्। असहज परिस्थितिमा गोयल किन नेपाल आए भन्ने चर्चा भइरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहना अनुसार आकस्मिक रुपमा गोयल नेपाल आएको बताइएको छ।

चौतर्फी रुपमा यसको विरोध भइरहेका बेला ओलीका विश्वासपात्र मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाहकका रुपमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल नेपाल आएको बताएका छन्।

उनले भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएकै कारण प्रधानमन्त्रीसँग भेट गरेको धारणा सार्वजनिक गरेका हुन्। ‘भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा रअका प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे। यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो। विरोधको योजना हो या नियती? बुझ्न गाह्रो भो।’

नेता पोखरेलले सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै लेखेका छन्। ‘आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौं। नेपाल र भारतबीचको सीमा समस्याको परिणाम सुखद होस्, कामना गरौं।’ गत बुधबार दिउँसो काठमाडौं आएका गोयलले राति नै प्रधानमन्त्री ओलीसँग बालुवाटारमा तीन घन्टा लामो भेटवार्ता गरेका थिए। गोयलको नेपाल भ्रमणका लागि कूटनीतिक अनुमति दिइए पनि यस सम्बन्धमा सरकारी अधिकारीहरूलाई कुनै जानकारी नै थिएन।

गोयलले नेपाल आएर प्रधानमन्त्रीलाई भेटेको विषयमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरिरहेको छ। भेटका बारेमा अर्को दिनमात्रै प्रधानमन्त्रीको निजी सचिवालयले पुष्टि गरेको थियो।

भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*