आज नवरात्रको नवौँ दिन : सिद्धिदात्रीको विशेष पूजा
काठमाडौँ। बडादशैँको आज नवौँ दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको विशेष पूजा तथा आराधना गरिदैछ। देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिन्छन्। यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्ने सामर्थ्य प्राप्त हुने शास्त्रमा उल्लेख छ।
सिद्धिदात्रीले दाहिने भुजामा देवी जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गरेकी छन्। देवी सिद्धिदात्रीको वाहन सिंह हो। सिद्धिदात्री कमलको फूलमा बिराजमान छन्। नवौँ दिनमा यस देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुन्छ।
उनी अन्तिम देवी हुन् र उनको ध्यान गर्नाले सबै प्रकारको व्रह्माण्डिक र अन्य विश्वव्यापी इच्छाहरू पूरा हुन्छन्। भगवान शिवले सिद्धिदात्री देवीको अनुग्रहबाट धेरै उपलब्धिहरू पनि प्राप्त गरेका छन्। यी देवीको अनुग्रहले शिवको आधा शरीर देवीको थियो। यस कारणले शिव अर्धनारीश्वर नामले प्रख्यात छन्।
सिद्धिदात्रीको स्मरण, ध्यान, आराधनाले यस संसारको जोखिमलाई महसुस गराउँदछ र मानवलाई अमृत पदमा पुर्याउँछ भन्ने विश्वास छ। देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्न सक्ने बताइन्छ।
‘ॐ ह्रीं चामुण्डायै विच्चे नमो नमः’ देवीको यो बीज मन्त्र कम्तिमा १०८ पटक मन्त्र उच्चारण गरेमा शुभ हुने धार्मिक विश्वास छ।


















