मनास्लु र लुवुचो हिमालको सफल आरोहणपछि स्वदेश फर्किए बहराइन राजकुमार

वेलकम खबर
कार्तिक ७, २०७७

काठमाडौं। बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएका छन्। राजकुमार खलिफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाइ गरे। राजकुमार खलिफाले हिमालबारे थाहा नभएको आफू नेपालका हिमाल चढ्दा र यहाँको प्राकृतिक सौन्दर्यबाट रोमाञ्चित भएको र नेपालमा नै बसौं बसौं लागेको प्रतिक्रिया दिएका थिए।

राजकुमारसहित १८ जनाको टोली १ महिना ७ दिन नेपाल बसेको थियो। आफ्नो अनुभव मध्यपूर्वका जनतालाई बाँड्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन्। राजकुमार खलिफाले भने, ‘नेपालप्रति मेरो यति लामो बसाइमा कुनै गुनासो छैन, यहाँको आतिथ्यतादेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यताको अनुभव साच्चिकै स्मरणीय रह्यो।’

मन्त्री भट्टराईले नेपालको हिमाल आरोहण गरेर पुरै मध्य पूर्वमा नेपालको सौन्दर्यताका बारेमा प्रचार गरेको भन्दै राजकुमार खलिफाप्रति आभार व्यक्त गरे। उनले बहराइनसँगको हवाइ उडान नियमित गर्न र त्यहाँका नागरिकलाई नेपाल घुम्न पठाउन सहयोगी भूमिका खेलिदिन पनि आग्रह गरेका छन्। नेपालका हिमाल आरोहण गर्न क्रिस्टिफर एन्थोनीको नेतृत्वमा राजकुमार खलिफा सहित १८ सदस्यीय टोली गत भदौ ३१ मा नेपाल आएको थियो। टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी र ३ जना बेलायती नागरिक थिए।

उक्त टोलीले ८५१६ मिटर अग्लो मनास्लु र ६११९ मिटर अग्लो लोबुचो हिमाल आरोहण गरेको थियो। मनास्लु हिमाल बेसक्याम्पबाट आठै दिनमा सफल आरोहण गरेको थियो। आरोहणका क्रममा टोलीले मनास्लु हिमालको १९०० किलो फोहोर मैला सफा गरेको थियो भने लोबुचोको सबै फोहोर सफाइ गरेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*