२ महिनामा भित्रियो १ खर्ब ६५ अर्ब रेमिट्यान्स

वेलकम खबर
कार्तिक ६, २०७७

काठमाडौं। गत आवको पहिलो दुई महिनाको तुलनामा यस आवको सोही अवधिमा कुल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भएको छ। यस आवको दुई महिनामा २० अर्ब ४४ करोडको स्वदेशी बस्तु निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो।

गन्तव्यका आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा आयुर्वेदिक औषधि, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा कुल वस्तु आयात २२.१ प्रतिशतले घटेर १ खर्ब ७८ अर्ब ८५ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपूर्जा, खाने तेल, कोइला लगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ। यस आर्थिक वर्षको पहिलो दुई महिनामा वस्तु व्यापार घाटामा सुधार आएको छ। यस्तो घाटामा २४.९ प्रतिशतले कमी आई १ खर्ब ५८ अर्ब ४० करोड कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३.१ प्रतिशतले ह्रास आएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.४ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो।

रेमिट्यान्स ८.१ प्रतिशतले बढ्यो 
समीक्षा अवधिमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ८.१ प्रतिशतले वृद्धि भई १ खर्ब ६५ अर्ब ७३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*