आज राष्ट्रपतिबाट रानीपोखरी उद्‌घाटन हुँदै

वेलकम खबर
कार्तिक ५, २०७७

काठमाडौं। २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको काठमाडौंको मध्यमा रहेको ऐतिहासिक रानीपोखरीको उद्घाटन आज (बुधबार) हुँदैछ। राष्ट्रिय पुनर्निमाण प्राधिकरणले पुनर्निमाण गराएको रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्न लागेकी हुन्। उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन्।

पाँच वर्ष पाँच महिनापछि रानीपोखरी पुरानै स्वरुपमा फर्किएको हो। रानीपोखरीमा झण्डै तीन करोड लिटर पानी भरिएको छ। बिजुली जोडेर झिलिमिली बनाइएको छ। पर्खाल वरपर हरियाली छ। पोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर पनि प्रताप मल्लकालीन ग्रन्थकुट शैली (शिखर) मा पुनर्निर्माण भएको छ।

१८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते रानीपोखरी पुनर्निर्माणको गरेकी थिइन्। शिलान्यास भएको झण्डै पाँच वर्षपछि राष्ट्रपति भण्डारीले नै गर्दै छन्।

यसअघि गएको वैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने कार्यक्रम थियो। तर कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले लकडाउन गरेपछि उद्घाटन हुन सकेको थिएन।

सबैका लागि खुला 
ऐतिहासिक सम्पदा रानीपोखरी उद्घाटन भएसँगै सबैका लागि खुला हुनेछ। अबदेखि सुरक्षाकर्मीले सुरक्षा गर्नेछन्। बालगोपालेश्वर (यमलेश्वर) मन्दिर परम्परागत मान्यता अनुसार वर्षको एक दिन भाइटीकामा खुल्ने गर्छ। यो मन्दिर पनि पाँच वर्षपछि यसपालिको भाइटीकामा खुल्ने भएको छ।

रानीपोखरी सहित समग्र व्यवस्थापनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिने प्राधिकरणको तयारी छ। प्राधिकरणका अनुसार प्राधिकरणले गर्नुपर्ने अरु थप कामहरु सम्पन्न गरेर हस्तान्तरण गरेपछि महानगरपालिकाले व्यवस्थापन गर्नेछ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*