प्रस्तावित राजदूतविरुद्ध उजुरी गर्ने सम्पर्कमा नआएपछि लम्बियो संसदीय सुनुवाइ
काठमाडौं। प्रस्तावित राजदूतविरुद्ध उजुरी गर्ने सम्पर्कमा नआएपछि राजदूतको सुनुवाइ प्रक्रिया लम्बिएको छ। उजुरी दर्ता गर्ने तर सम्पर्कमै नआउने उजुरीकर्ताका कारण राजदूत सुनुवाइ प्रक्रिया लम्बिएको हो।
सरकारले प्रस्ताव गरे अनुसार संसदीय सुनुवाइ समितिले असोज २१ गते १० दिनको समय दिएर उजुरी आह्वान गरेकोको थियो। उजुरी आह्वानमा अमेरिकाको राजदूत प्रस्तावित डा. युवराज खतिवडा र बेलायतको राजदूतका लागि प्रस्तावित लोकदर्शन रेग्मीविरुद्ध चार वटा उजुरी परेका छन्।
उजुरी हालेर उजुरीकर्ता सम्पर्कमा नआएपछि समितिले सार्वजनिक सूचना निकालेर आउँदो १७ गते बिहान ११ बजे सिंहदरबारमा रहेको संघीय संसद् सचिवालयमा उपस्थित हुन आह्वान गरेको छ।
समितिले सचिवालयमा उपस्थित भएर उजुरीमा उल्लेख भएका सूचना र उजुरीबारे थप जानकारी दिन भनेको छ। संसदीय समितिले आह्वान गरेको उजुरीमा, उजुरीकर्ता सम्पर्कमा नआएको यो पहिलो घटना भएको उल्लेख गरिएको छ।
समितिले १७ गते पनि छलफलमा उजुरीकर्ता उपस्थित नभए सुनुवाइ प्रक्रिया अघि बढ्ने सूचनामा उल्लेख गरिएको छ। मन्त्रिपरिषद् बैठकले असोज १५ गते अमेरिकाको राजदूतमा निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्तिको सिफारिस गरेको थियो।


















