दशैँका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

वेलकम खबर
कार्तिक ३, २०७७

काठमाडौं। दशैँका लागि काठमाडौंबाट बाहिरिनेको संख्या बढ्दै गएको छ। विगतका वर्षहरूमा जस्तो काठमाडौं छोड्नेहरुको चाप र चहलपहल नभए पनि घटस्थापनादेखि गाउँ जानेहरूको संख्या भने केही दिनदेखि बढ्न थालेको हो।

अहिले दैनिक २१ हजारको हाराहारीमा यात्रु बाहिरिने गरेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। गएको २४ घण्टामा ४ हजार ४ सय ६० वटा गाडीमार्फत १६ हजार २ सय ७७ जना यात्रु काठमाडौं भित्रिएका छन्। भने, ४ हजार ६ सय ५८ वटा गाडीमार्फत २३ हजार ३ सय ९० यात्रु बाहिरिएका छन्।

हिजो २१ हजार ५ सय ७३ यात्रु बाहिरिएका छन्। १७ हजार ३ सय जना काठमाडौं भित्रिएका छन्। घटस्थापनाको दिन कात्तिक एक गते २१ हजार ४ सय ७२ यात्रुले काठमाडौं छोडेका थिए।

घटस्थापनाको दिन १६ हजार ६ सय यात्रु काठमाडौं भित्रिएको महाशाखाले जनाएको छ। अब फूलपातीसम्म बाहिर जानेको संख्या बढ्दै जाने र भित्रिनेको संख्या कम हुँदै जाने यातायात ब्यवस्था विभागले जनाएको छ।

गएका वर्षहरूमा दशैँ सुरु हुनुभन्दा अगाडिदेखि नै बजारमा किनमेल गर्ने, गाउँघर जाने र काठमाडौं छिर्नेको भीडभाड हुने गर्थ्यो। कोरोना महामारीका कारण यो वर्ष गाउँघर फर्कने र उपत्यका छिर्नेको संख्या पनि तुलनात्मक रुपमा कम छ।

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुको संख्या कम भएकाले अग्रिम टिकट बुकिङ भने नखुल्ने भएको छ। यो वर्ष अग्रिम टिकट बुकिङ नखुल्ने यातायात व्यवस्था विभागले जनाएको छ।

यात्रुको चाप नभएको र अहिले चलिरहेका गाडीले नै धान्ने भएकाले अग्रिम टिकट बुकिङ खुलाउनु नपर्ने यातायात व्यवस्था विभागले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*