आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदै
काठमाडौं। नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ। चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूप महाकाली, महालक्ष्मी र महासरस्वतीको पञ्चोपचारले पूजाआजा गरिन्छ।
यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ। यस दिन पनि सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजा गरिएको हुन्छ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी र नबौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ। देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुले पूजाआजा गर्ने गरेका छन्।
घटस्थापनाका दिन जमरा राखेर नवमीसम्म घरघरमा देवी भवानीको पूजा आराधना गर्दै दुर्गासप्तशती चण्डी पाठ गर्ने चलन छ।


















