बडादसैंको दोस्रो दिन आज ब्रह्मचारिणीको आराधना गरिँदै

वेलकम खबर
कार्तिक २, २०७७

काठमाडौं। नेपालीहरुको ठूलो चाड बडादसैंको दोस्रो दिन आज माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंँदै छ।

आश्विन शुक्ल प्रतिपदाबाट प्रारम्भ भएको नवरात्रको दोस्रो दिन ‘ब्रह्मचारयितुं शीलं यस्याः सा ब्रह्मचारिणी’ भन्दै देवीको ब्रह्मचारिणी रुपको आराधना हुन्छ। भक्तलाई आफ्नो माध्यमबाट परब्रह्मस्वरुपामा लीन गराउनु वा प्राप्त गराउनु भगवतीको स्वभाव हो। त्यस्ती परमस्वरुपा देवीको पूजा गरिने विशेष दिन हो आज।

नवरात्रिभर विशेष साधना गरी मनाइने पर्वको दोस्रो दिनलाई द्वितीयाका नामबाट चिनिन्छ। द्वितीयाका दिन कोट, मन्दिर वा पूजाकोठामा दीप, कलश, गणेशसहित ईशान कलश वा मध्यभागमा स्थापना गरिएको देवीको मूर्तिमा पहिलो दिनजस्तै सामग्री तयार पारी ब्रह्मचारिणीको भक्तिभावका साथ पूजाआजा गरिन्छ। स्वरुप एकै भए पनि विभिन्न स्वरुपमा पूजा गर्नु हाम्रो विशिष्ट परम्परा हो।

सनातन संस्कृतिमा दैवीशक्तिका रुपमा नारी शक्तिको उपासना सृष्टिको प्रारम्भदेखि नै सुरु भएको मानिन्छ। ‘अहं ब्रह्मस्वरुपिणी’ यो सारा संसारको सृष्टिकारीका ब्रह्मस्वरुप म नै हुँ र जगत्मा भएका सारा प्रपञ्च मबाटै सञ्चालित छन् भन्ने विषय देव्यथर्वशीर्षमा देवीकै उद्गारका रुपमा प्रस्तुत भएको पाइन्छ।

सृष्टिमा पनि आद्य सृष्टिकी कारण भएकी जगदम्बा जगत्की पालनकर्ता र जीवनहर्ताका रुपमा पनि आफू नै रहेको विषय वर्णित भएका छन्। आजै महाकाली, महालक्ष्मी, महासरस्वतीकी प्रतिमूर्ति ‘त्रिमूर्ति’ नाम गरेकी कन्यालाई दुर्गा स्वरुपका रुपमा पूजा गर्दै परिधानीय वस्त्रसहित अलङ्कार र दक्षिणा दिई सम्मान गरिन्छ। जप, दुर्गासप्तशती पाठ र हवन गरी द्वितीया दिनको कर्म पूरा गरिन्छ।

शक्तिको उपासना गर्दा कर्ताले रातो वस्त्र धारणा गरी भगवतीलाई रक्तचन्दन, रक्ताक्षत, रक्तपुष्प , बेलपत्र, रक्तवस्त्र चढाई अर्चना गर्नाले कामना पूर्ण हुने विश्वास छ। मिष्ठान्न, विभिन्न प्रकारका नैवेद्यका साथै ऋतुफल, उखु, बेलपत्र, नरिवल आदि देवीलाई मन पर्ने फलफूलमा पर्दछन्।

नेपाल प्राचीन समयदेखि नै आर्ष परम्पराबाट स्थापित शक्ति भूमिका नामले परिचित छ। देवीहरूको शक्तिकेन्द्र भएकाले प्रत्येक नेपालीले सुख शान्ति र अभीष्ट फल प्राप्तिका लागि शक्ति स्वरुपा नवदुर्गा भवानीको पूजापाठ गर्दछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*