चीनको दाबी : नेपाली भूमि मिचिएको छैन
काठमाडौं। चिनियाँ सरकारी अधिकारीहरूले हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै हालै निर्माण गरिएका भवनहरू चिनियाँ भूमिभित्रै रहेको दाबी गरेका छन्। हालै निर्माण भएको नयाँ गाउँ चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने उनीहरूले बताएका छन्।
चिनियाँ सरकारको मुखपत्र दि ग्लोबल टाइम्ससँग बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा सो भवनहरू निर्माण गर्नुभन्दा पहिला सेना र सर्वेका अधिकारीहरूले सो भवन निर्माण चिनियाँ भूभागभित्र नै बनोस् भनी विस्तृत सर्वे र म्यापिङ गरेको बताएका छन्।
उनले भनेका छन्, ‘सो भवन पूर्णरुपमा चीनको भूभागभित्र पर्छ र सबैभन्दा नजिकको भवन चीन–नेपाल सीमाभन्दा एक किलोमिटर टाढा रहेको छ।’ उनले नयाँ गाउँ निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिएका छन्।
नेपालमा चीनले सीमा मिचेको विषय उठेपछि चिनियाँ अधिकारीहरूले दोस्रोपटक फिल्ड सर्वे र मापनको काम गरेका थिए। सो टोलीले भवन चीनको बुराङ गाउँमा नै पर्ने निष्कर्ष निकालेको थियो। चिनियाँ सरकारी अधिकारीहरूले सो गाउँ व्यापार बढाउन बनाइरहेको र निर्माण गर्ने समयमा नेपाली अधिकारीहरूसँग कुनै पनि विवाद नभएको उल्लेख गरेका छन्।
चिनियाँ अधिकारीले पिल्लर नं. ११ र १२ एकदमै उच्च भागमा रहेको र सर्वेको ज्ञान नभएका व्यक्तिले अध्ययन गर्न कठिन हुनेसमेत उल्लेख गरेका छन्। चिनियाँ अधिकारीले नेपाली सर्वे टिमले केही गल्ती गरेको हुनसक्ने सो पत्रिकालाई बताएका छन्।
यसअघि नेपालको परराष्ट्र मन्त्रालय र चीनका लागि नेपाली राजदूत डा। महेन्द्रबहादुर पाण्डेले पनि चीनले नेपालको भूभाग नमिचेको दाबी गरेका छन्। तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने चीनले नेपाली भूभाग मिचेको दाबी गर्दै सरकारले झूट बोलेको आरोप लगाएको छ।
नेपाल र चीनको बिचमा सीमा विवाद समाधान भए पनि नेपाल र चीनले संयुक्त रुपमा तीनवटा सीमाको संयुक्त अवलोकन गरेका र कुनै समस्या नपाइएको समेत चिनियाँ सरकारी अधिकारीको दावी छ।v



















