नेपाली टोलीद्धारा बरुन्त्से हिमालको सफल आरोहण
काठमाडौं। आरोहणको जारी सिजनमा नेपाली टोलीले बरुन्त्से हिमालको सफल आरोहण गरेको छ। पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार दावा स्टेभन शेर्पा नेतृत्वमा ७ जनाले बिहीबार बरुन्त्से हिमाल आरोहण गरेका हुन्।
खुम्बु क्षेत्रमा पर्ने बरुन्त्से हिमाल ७ हजार १ सय २९ मिटर अग्लो छ। सो हिमाल आरोहण गर्न ३६ वर्षीय शेर्पा नेतृत्वको टोली गत भदौ २१ गते प्रस्थान गरेको थियो। आरोहणको व्यवस्थापन एसियन ट्रेकिङ प्रालिले मिलाएको थियो।
जारी सिजनमा यो दोस्रो र नेपाली टोलीबाट भएको पहिलो सफल आरोहण हो। यस वर्षको आरोहण सिजनमा पहिलो सफल आरोहण बहराइनका राजकुमार मोहमद हमद मोहमद अल खलिफासहितको टोलीले गरेको थियो। बहराइनको टोलीले १७ असोजमा लोबुचे हिमाल आरोहण गरेको थियो।
सोही टोलीले २९ असोजमा मनास्लु हिमाल पनि आरोहण गरेको थियो।


















