आज नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण

दाहाल र नेपाललाई छैन निम्तो
वेलकम खबर
अशोज २९, २०७७

काठमाडौँ। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज हुँदैछ। राष्ट्रपतिका स्वकीय सचिव डा.भेषराज अधिकारीका अनुसार बिहान साढे ११ बजे हुने शपथ ग्रहणको तयारी पूरा भएको छ। कोरोनाको महामारीका कारण जमघटमा कडाइ गरिएकाले नआई नहुने व्यक्तिहरू बाहेक शपथग्रहणमा अरू कोही सहभागी नहुने राष्ट्रपति कार्यालय निकट स्रोतले जनाएको छ। उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, केही मन्त्रीहरूसहित सीमित पदाधिकारीहरू मात्रै शपथग्रहणमा सहभागी हुनेछन्।

निकट स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीहरूलाई शपथग्रहणमा बोलाइएको छैन। नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि शपथ ग्रहणमा बोलाइएको छैन। प्रचण्ड निकट एक सदस्यले बिहान ८ बजेसम्म सपथ ग्रहणको कार्यक्रमबारे निम्ता आएको वा नआएको केही जानकारी नभएको बताए। ‘कोरोनाकै कारण नबोलाइएको भए ठिकै हो, यस्तो बेला भीडभाड नगरेकै राम्रो’, उनले भने।

पूर्वप्रधानमन्त्री नेपाल निकट एक सदस्यले पनि बिहान ८ बजेसम्म शीतल निवासबाट सपथग्रहणबारे केही जानकारी नआएको बताए। ‘हामीलाई केही जानकारी छैन, तपाईँहरूलाई जे सूचना छ त्यही सत्य हो,’ ती सदस्यले भने। यद्यपि दाहाल र नेपाल जान चाहेमा शपथ ग्रहणमा रोकटोक नहुने स्रोतको भनाइ छ। दाहाल९नेपाल समूहले मन्त्रिपरिषद् पुनर्गठनमा ओलीले एकलौटी गरेको भन्दै असन्तुष्टि जनाएकाले शपथ ग्रहणमा डाकिए पनि जाने सम्भावना कम रहेको उनीहरू निकट नेताहरूले जनाएका छन्।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना मन्त्री थप्दै केहीको जिम्मेवारी हेरफेर गरेका थिए। मन्त्रिमण्डल पुनर्गठनका क्रममा उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेललाई रक्षामन्त्रीको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री ओलीले उक्त मन्त्रालय आफैँ राखेका छन्। पोखरेललाई उपप्रधानमन्त्रीको जिम्मेवारीबाट भने मुक्त गरिएको छैन। अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाएका छन्।

यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकासमन्त्री र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ। महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*