ओली-प्रचण्डबीच भेटवार्ता
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच केहीबेर अघिबाट भेटवार्ता भइरहेको स्रोतले जनाएको छ।
दुई अध्यक्षबीच पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति तथा राजनीतिक नियुक्ति, मन्त्रिमण्डल हेरफेर लगायतका विषयमा छलफल हुने बताइएको छ। दुई नेताबीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा लामो समयदेखि कुराकानी भएपनि मिल्न सकेको छैन।
रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्ने ओलीको चाहना छ भने प्रचण्ड अपवाद बाहेक दुई वर्ष पुगेकाहरूको स्थानमा नयाँ मन्त्री नियुक्त गर्नुपर्ने पक्षमा छन्। पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगबाट राजदूत नियुक्त गरेपछि प्रचण्डलगायतका नेताहरू असन्तुष्ट थिए।
गत असोज २० गते बसेको सचिवालय बैठकमा यसबारे सामान्य छलफल भएको थियो।



















