मनास्लु हिमाल आरोहणमा बहराइन राजकुमारको टोली
काठमाडौं। कोरोना भाइरस सङ्क्रमणको संकटकै बीच नेपाल भ्रमणमा रहेका बहराइनका राजकुमार शेख नसिर बिन हमाद अल खालिफाको टोली मंगलबार मनास्लु हिमाल आरोहणमा निस्किएको छ।
राजकुमार नासिरको टोली गोरखाको मनास्लु हिमाल आरोहणमा गएको पर्यटन विभागले जनाएको छ। यसअघि राजकुमार नासिरसहितको टोली गत शनिबार छ हजार एक सय १९ मिटर अग्लो लुबुचे हिमाल आरोहण गरेर फर्किएको थियो ।
राजकुमार नासिर टोली आरोहणको सम्पूर्ण संयोजन सेभेन समिट ट्रेक प्रालिले गरिरहेको छ। आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि त्यहाँ बाटो बनाउने काम भइरहेको प्रालिले जनाएको छ। बाटो बनाउने कामसँगै राजकुमार नासिरको आरोहण यात्रा मंगलबार सुरु भएको हो।
कोरोना महामारीका कारण विगत ६ महिनादेखि ठप्प भएको पर्यटन क्षेत्रमा राजकुमार नासिरको भ्रमणले विशेष महत्व राख्ने पर्यटन व्यवसायीले बताएका छन्। राजकुमार नासिरको आरोहण टोलीमा बहराइनका शाही परिवार, सुरक्षा टोली, नेपाली तथा विदेशी गाइडसहित २५ जना रहेका छन्।
मनास्लु आरोहणको तयारीका लागि ७५ जनाको टोली एक साताअघि नै मनास्लु आधार शिविर पुगेको थियो। उक्त टोलीले पहिलो आधार शिविर र दोस्रो आधार शिविरसँगै क्याम्प बनाउने काम सकेपछि राजकुमार नासिरको टोली आरोहणमा निस्किएको हो।
नासिरको आरोहण टिमको नेतृत्व २४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका कामीरिता शेर्पाले गरेका छन्। कामीरितासँगै विश्वका १४ वटा अग्ला हिमाल आरोहण गरेका छाङदावा शेर्पा, कान्छा सगरमाथा आरोही टासी लाक्पा शेर्पासमेत उनको टोलीमा रहेको सभेन समिट प्रालिले जनाएको छ।
भदौ १५ गते कोरोना संकटकै बीच सरकारले बहराइनका राजकुमारलाई नेपाल आउनका लागि चार्टर्ड फ्लाइट अनुमति दिने निर्णय गरेको थियो।


















