पछिल्ला दिनमा हवाई क्षेत्रमा भएका केही महत्वपूर्ण र नवीन कामहरू
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नागरिक उड्डयन तथा हवाई क्षेत्रमा पछिल्ला दिन केही महत्वपूर्ण कामहरूको भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत मन्त्री भट्टराईले पछिल्ला दिनमा उड्डयन तथा हवाई क्षेत्रमा भएका केही महत्वपूर्ण र नवीन कामहरूबारे जानकारी दिएका हुन्। मन्त्री भट्टराईका अनुसार असोज १५ गते कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत विमानस्थलको बिस्तार र स्तरोन्नति गर्न केन्द्र सरकार र प्रदेश सरकारका बीचमा लागत साझेदारी पत्रमा हस्ताक्षर भएको छ।

सो विमानस्थलको बिस्तारको काम अब तत्काल अघि बढ्ने उनले बताएका छन्। त्यस्तै वर्तमान सरकार गठन भएपछि कालोपत्रे भएका बझाङ, डोटी र बैतडी विमानस्थलमा असोज १७ गते परीक्षण उडान सम्पन्न भएको र अब त्यहाँ नियमित उडान सुरु हुने मन्त्री भट्टराईले जानकारी दिएका छन्। त्यस्तै प्रदेश १ को राजधानी रहेको विराटनगर विमानस्थल बिस्तार तथा स्तरोन्नतिका लागि केन्द्र, प्रदेश र विराटनगर महानगरपालिका बीचमा आज लागत साझेदारी पत्रमा हस्ताक्षर भएको समेत मन्त्री भट्टराईले बताएका छन्। अब यो बिस्तारको काम समेत अघि बढ्ने उनको भनाई छ।

उनले मतदानस्थलहरूको बिस्तारको काम तीन तहको लागत साझेदारीबाट शुरु भएको समेत स्पष्ट पारेका छन्। उनले भनेका छन्, ‘हाम्रो संघीयता पारस्परिक सहयोग र साझेदारीतामा आधारित संघीयता हो। संविधान र संघीयताको सोही मर्म र भावनाको कार्यन्वयन विमानस्थलबारेको बिस्तारमा तीन तहको लागत साझेदारीबाट शुरु भएको छ।’



















