दसैँको बस टिकट बुकिङ अर्को साताबाट

वेलकम खबर
अशोज १९, २०७७

काठमाडौं। प्रत्येक वर्ष असोज १ गतेबाटै दसैँका लागि सार्वजनिक बसको टिकट बुकिङ हुने गरे पनि यस वर्ष कोरोना महामारी तथा दसैँसमेत केही ढिला भएका कारण असोज चौथो सातामात्र बुकिङ खुल्ने भएको छ। दसैँका लागि टिकट बुकिङ खुलाउने विषयमा सरोकारवाला पक्षबीच अझै मत मिल्न सकेको छैन भने छलफलले निकास पाए आउँदो सातादेखि बुकिङ खुल्ने सम्भावना छ। यातायात विभागले काठमाडौंबाट दसैँ मनाउन घर जाने यात्रुको सहजिकरणको लागि अग्रिम टिकट बुकिङ अर्का साताबाट खोल्ने तयारीमा रहेको जनाएको छ।

कोभिड–१९ का कारण यस वर्ष धेरै यात्रुले सार्वजनिक यातायातबाट यात्रा नगर्ने भएकाले करिब ६ लाख यात्रुको व्यवस्थापन गर्ने गरी विभागले तयारी गरेको छ। गत वर्ष २० लाखसम्म उपत्यकाबाट दसैँका लागि बाहिरिने अनुमान हुने गरेकोमा यो वर्ष ६ लाखमात्र यात्रु सार्वजनिक यातायात प्रयोग गरी बाहिरिने विभागको आकलन छ।घटस्थापनाको एक हप्ता अगाडिबाट टिकट बुकिङ खोल्ने गरि विभागले तयारी गरिरहेको विभागले जनाएको छ। यसो हुँदा यात्रुले पनि सहज रुपमा टिकट पाउने र विचौलियाको पनि अन्त्य हुने विभागको भनाइ छ। विभागले योजनाबद्ध रुपमा यातायात व्यावसायी, ट्राफिक महाशाखा सँगको समन्वयमा आन्तरिक तयारी गरेको विभागले जनाएको छ।

विभागले शुक्रबार यातायात व्यावसायी महासङ्घसँग छलफल गरेको थियो। यता, नेपाल यातायात राष्ट्रिय व्यावसायी महासङ्घसँग आइतबार भनेको छलफल २३ गतेको लागि सरेको छ। २२ गते महासंघ अन्तर्गतका संघ संस्थाहरू सँगको राय सुझाव लिएर अग्रिम टिकट खुला गर्ने निर्णय लिइने भनिएको छ। सोहीअनुसार अर्का साताबाट अग्रिम टिकट खुल्ला गर्न योजना रहेको विभागको भनाइ छ। केही दिनको आन्तरिक तयारी गरेर महासङ्घले विभागलाई अग्रिम टिकट बुकिङको जानकारी गराउने जनाएको सूचना अधिकारी भुसालको भनाइ छ।

छोटो र मध्यम दूरीमा जाने यातायातमा समस्या नरहेको तर लामो दूरीको सार्वजनिक यातायात व्यवस्थापनमा समस्या रहेकाले विभागले छलफल गरेर अर्को हप्ताबाट अग्रिम बुकिङ खुल्ला गर्ने गरी टुङ्गोमा पुग्ने विभागले जनाएको छ। नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घले २२ गते देशभरका आफू मातहतका व्यावसायीहरू सँगको छलफल राय सुझाव लिएर मात्र २३ गते विभागसँग छलफल गर्ने बताएको छ। पुरानो भाडामा पूर्ण सिट क्षमतामा सार्वजनिक यातायात सञ्चालनमा आउनु पर्छ भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा महासङ्घले ७ गते ज्ञापनपत्र बुझाएको थियो।

सरकारले कोभिड–१९को रोकथामको लागि गत चैत १० देखि सबै प्रकारको सवारीमा रोक लगाएको थियो भने लामो दूरीको सवारी असोज १ देखि खुला गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*