प्रहरीमा डीआइजीको ५ दरबन्दी थप्ने तयारी

वेलकम खबर
अशोज १८, २०७७

काठमाडौं। नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआइजी) को ५ वटा दरबन्दी थप्ने तयारी गरिएको छ। गृह मन्त्रालयले निर्णयका लागि मन्त्रिपरिषद्‌मा पठाएको संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) अनुसार डीआइजीको ५ वटा दरबन्दी थपिन लागेको हो। मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मन्त्रिपरिषद्ले गृहको प्रस्तावलाई हाल छलफलका लागि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको प्रशासनिक समितिमा पठाएको छ।

समितिबाट मन्त्रिपरिषद्‌मा गएपछि डीआईजी थप्ने प्रस्तावमाथि निर्णय हुनेछ। यसअघि डीआईजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरज शाही प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएपछि तीन वटा डीआइजीका पद खाली थिए। त्यसमा ५ वटा दरबन्दी थप भए नेपाल प्रहरीमा डीआईजीको ८ पद रिक्त हुनेछन्।

थपिने दरबन्दीका लागि हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका गणेश ऐरसहित पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह प्रतिष्पर्धामा हुनेछन्। त्यस्तै, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ पनि बढुवाको प्रतिस्पर्धी हुन्।

प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन्। यसअघि प्रशासनमा २६ जना डीआईजी रहेकामा ठाकुरप्रसाद ज्ञवाली आईजीपी भएका बेला गृह मन्त्रालयले १४ वटा दरबन्दी कटौती गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*