विमानस्थलको निरिक्षण!

वेलकम खबर
अशोज १८, २०७७

काठमाडौं। बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न धनगढी विमानस्थललाई बेस बनाएर शनिबार परीक्षण उडान भएको छ। हवाई सेवा सञ्चालनको तयारी स्वरुप शनिबार परीक्षण उडान भएको हो। विमानस्थलको अनुगमन सहित परीक्षण उडानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन्। धनगढी विमानस्थलका प्रमुख तेजबहादुर थापाका अनुसार शनिबार समिट एयरले धनगढीबाट बैतडी, बझाङ र डोटीमा परीक्षण उडान गरेको हो।

शनिबार समिट एयरको विमानले सुरुमा नेपालगञ्जबाट धनगढी र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान गरेको थियो। परीक्षण उडान सफल भएसँगै अब अन्य विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा नियमित उडान सुरु गर्न आह्वान गर्ने प्रमुख तेजबहादुरले बताए। वर्षौँदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थलको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडानको तयारी गरिएको थियो। अहिले सुदूरपश्चिमका पहाडी जिल्ला गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा धेरैले अकालैमै ज्यान गुमाउनुपर्ने अवस्था छ।

सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ। यो सेवा सुरु भएसँगै नागरिकलाई सहजता मिल्ने छ। हाल सुदूरपश्चिमको गेटा विमानस्थलमा मात्रै काठमाडौं–धनगढी– काठमाडौं नियमित उडान हुने गरेको छ। विमानस्थलको अनुगमन तथा उद्घाटनमा शनिबार मन्त्री भट्टराईसहित प्रतिनिधिसभा सदस्यहरू डोटीका प्रेम आले, बझाङका भैरब वहादुर सिंह, आसा विक, बैतडीका दामोदर भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख राजन पोखरेल, नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरव आयोजना प्रमुख प्रदिप अधिकारी, इन्जिनियर र प्राविधिकहरूको टोली त्यहाँ पुगेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*