पर्यटन मन्त्री भट्टराई सुदूरपश्चिममा
सुदूरपश्चिम। बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लामा हवाई सेवा सञ्चालनको तयारी भएको छ। धनगढीलाई बेस बनाएर बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनको तयारी भएको हो। हवाई सेवा सञ्चालन गर्नका लागि आज परीक्षण उडानको तयारी भएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढाथापाले जानकारी दिए। समिट एयरले आज धनगढीबाट बैतडी, बझाङ र डोटीमा परीक्षण उडान गर्ने भएको हो।
समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने बताईएको छ। अहिले धनगढी–बाजुरा चार्टड उडान भइरहेको छ। बैतडी, बझाङ, डोटी जिल्लामा पनि विमानस्थलको निर्माण सकिएकाले परीक्षण उडान हुने भएको छ। उनले भने, ‘परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा नियमित उडान सुरु गर्न आह्वान गर्छौ।’
विमानस्थल सञ्चालन गर्न ठिक छ। भन्ने परीक्षण उडानको रिपोर्ट आएपछि आह्वान गरिने उनको भनाई छ। वर्षौँदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थलको पुनःनिर्माण काम सकिएसँगै परीक्षण उडानको तयारी थालिएपछि प्रदेशमा उत्साह बढेको नेविसंघ बैतडीका अध्यक्ष समेत रहेका स्थानीय कपिल केसीले बताए। परीक्षण उडानले उत्साह थपेको छ। उनले भने, ‘परीक्षण उडान मात्रै सफल भएपछि नियमित उडान हुनुपर्छ, साथै विमानस्थल पुन सञ्चालनका लागि आवश्यक पर्ने अन्य भौतिक पूर्वाधार निर्माण र उपकरण जडान पनि ध्यान जानुपर्छ।’
यसका साथै धनगढीबाट मात्रै नभएर सिधै काठमाडौंबाट सुदूर पहाडका जिल्लामा हवाई सेवा सञ्चालन भए झनै सहज हुने उनको भनाई रहेको छ। अहिले सुदूरपश्चिमका पहाडी जिल्ला गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा धेरैले अकालैमै ज्यान गुमाउनुपर्ने अवस्था छ। सडक मार्गबाट प्रदेशको अस्थायी राजधानी धनगढी पुग्न निकै समय लाग्ने गरेको छ। बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थलमा हवाई सेवा सञ्चालन भए स्वास्थ्य सेवामा समेत पहुँच सहज हुने विश्वास गरिएको छ। हाल सुदूरपश्चिमको गेटा विमानस्थलमा मात्रै काठमाडौं–धनगढी– काठमाडौं नियमित उडान हुने गरेको छ।
पर्यटनमन्त्रीको उपस्थिति
सुदूरपश्चिमका पहाडी जिल्लामा परीक्षण उडान तथा विमानस्थल निरीक्षणका लागि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थिति हुने कार्यक्रम रहेको छ। परीक्षण उडान तथा निरीक्षणका लागि मन्त्री भट्टराईसँगै बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारी, बझाङ, डोटीका पनि संघीय सांसदका साथै नागरिक उड्डयन प्राधिकरणको पदाधिकारी, प्राविधिकसहितको टोली उपस्थित हुने भएको हो।
उक्त टोलीले सुदूर पहाडका ३ वटै जिम्मामा परीक्षण उडान र निरीक्षण गर्ने सांसद भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिए। उनले भने, ‘धनगढीबाट बैतडी हुँदै बझाङ र डोटी जाने कार्यक्रम रहेको छ।’ सुदूरपश्चिमको क्षेत्रमा तराई पहाडको हवाई यात्राका लागि प्राधिकरणको टोलीले अध्ययन गर्ने र प्राविधिक दृष्टिकोणले मिलेसम्म आगामि दिनहरुमा उडानलाई निरन्तरता दिइने जनाईएको छ।
यात्रु अभावका कारण लामो समयदेखि ती विमानस्थल बन्द थिए। आजदेखि भने तीनवटै विमानस्थलबाट पुनः उडान हुने भएकोे हो। पुनः उडान सुरु हुने भएपछि तीनवटै विमानस्थलमा कालोपत्रेसहित स्तरोन्नतीको काम गरिएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ।


















