बामदेवको मुद्दा आज पनि हेर्दाहेर्दैमा, सुनुवाइ बुधबार हुने
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा अब बुधबार सुनुवाइ हुने भएको छ।शुक्रबार सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर बाँकी सुनुवाइ आउँदो बुधबारसम्मका लागि सरेको सर्वोच्च अदालतका एक अधिकारीले जनाएको छ।
गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि गत बुधबारदेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासको पूर्ण इजलासमा सुनुवाइ भएको छ।
बुधबार नसिकए पछि शुक्रबारका लागि सारिएको सुनुवाइ अदालतको समय सकिएपछि फेरि बुधबारका लागि सरेको बताइएको छ। उक्त रिटमा असोज ७ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमको सांसद पद यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो।



















