दशैँ-तिहार लक्षित सुपथ मूल्यका पसल आजदेखि सञ्चालन हुँदै

वेलकम खबर
अशोज १५, २०७७

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज (बिहीबार) देखि काठमाडौं उपत्यकामा दशैं(तिहार लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ। मन्त्रालयले असोज १५ गतेदेखि मंसिर ६ गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागेको हो।

‘नेपालीहरुको महत्वपूर्ण चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेसनमार्फत सुपथ मूल्यमा सामान उपलब्ध गराउन लागिएको हो।’ मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले घुम्ती सेवा पसल, र अनलाइन मार्फत उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानमार्फत अत्यावश्यक सामाग्री सुपथ मूल्यमा उपलब्ध गराइने जनाएको छ।

मन्त्रालयले उपभोग्य वस्तुहरूको मूल्य पनि सार्वजनिक गरेको छ। मन्त्रालयले नुन प्रतिकेजी १८ रुपैयाँ, चिनी केजीको ७० र घ्यू लिटरको ८७० रुपैयाँ तोकेको छ। चिनी र नुन भने प्रति परिवार ४ केजी मात्रै लिन पाउने व्यवस्था गरिएको छ। मन्त्रालयले खसीबोका तथा च्याङ्ग्रामा किलोको १०, चामलमा ५ रुपैयाँ, दालमा ५, सिमिलगायत गेडागुडीमा १०, फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट दिने निर्णय गरेको छ।

सुपथ मूल्यका पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जावलाखेल तथा भक्तपुरमा सञ्चालन हुनेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*