तीन विश्वविद्यालयले पाए उपकुलपति

काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ। राजनीतिक दल र नेताहरूबीच भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाएका छन्। राजनीतिक भागबन्डाकै आधारमा ती विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको हो।
सत्तारूढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वार्थ नमिलेका कारण एक वर्षसम्म ती विश्वविद्यालय उपकुलपतिविहीन बने। स्वार्थ मिलेपछि आइतबार मात्र तीनवट विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको हो। नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ। संस्कृत विश्वविद्यालयमा नियुक्त भएका लामिछाने प्रगतिशील प्राध्यापक सङ्गठनका अध्यक्षसमेत हुन्।
योग्यता र क्षमताभन्दा पनि राजनीतिक भागबन्डाका आधारमा उपकुलपति नियुक्ति गर्दा उच्च शिक्षा गुणस्तरीय हुन नसकेको विज्ञहरूको भनाइ छ। विश्वविद्यालयमा उपकुलपतिका साथै अन्य पदाधिकारी पनि राजनीतिक भागबन्डामै नियुक्त गर्दा शैक्षिक गुणस्तर कमजोर बन्दै गएको छ। क्षमताभन्दा पनि राजनीतिक आस्थाका आधारमा नेतृत्व दिँदा विश्वविद्यालयको गुणस्तर खस्कँदै गएको कृषि तथा वन विश्वविद्यालयका सहप्राध्यापक डा. ईश्वरीप्रसाद कडरियाको भनाइ छ। नागरिक दैनिक