सोमबारबाट तातोपानी नाका खुल्दै
काठमाडौं। नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी आउँदो सोमबारबाट खुल्ने भएको छ। नेपालमा कोरोना संक्रमण तीव्र रूपमा बढेको र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो जाने क्रम बढेपछि बन्द रहेको यो नाका नेपाली पक्षको प्रयासपछि बल्ल सुचारु हुन लागेको हो।
मंगलबार दुई देशका अधिकारीबीच मितेरी पुलमा बसेको बैठकले स्वास्थ्य मापदण्ड पूरा गरी नाका सुचारु गर्ने निर्णय गरेको छ। नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी, सशस्त्र प्रहरी प्रमुख, भन्सार प्रमुख, अनुसन्धानका प्रमुखलगायत सुरक्षा निकायका प्रमुख छलफलमा सहभागी भएका थिए।
तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार चीनका तर्फबाट ल्हासाबाट नै उच्च अधिकारीहरू छलफलका लागि उपस्थित भएका थिए। तातोपानी नाका २०७२ को विकासकारी भूकम्पले बन्द गराएको थियो। २०७२ मा बन्द भएको यो नाका २०७६ जेठमा खुले पनि फागुनमै फेरि बन्द भयो।
चीनमा देखिएको कोभिड-१९ का कारण बन्द गरिएको नाका स्वास्थ्य सामग्री ल्याउँदा खुलाइएको थियो। पछि तातोपानीबाट सबैखाले सामग्री ल्याउने निर्णय गरेसँगै खुलेको नाका पछिल्लोपटक असार २४ गते अरनिको राजमार्गस्थित बाह्रबिसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशीमा बाढी आएर सडक क्षतविक्षत बनाएपछि असार २५ बाट नाका बन्द थियो।


















