नेपालमा पदयात्रा र पर्वतारोहण खुला

सात दिन अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने
वेलकम खबर
अशोज १३, २०७७

काठमाडौं। सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ। कोरोना महामारी पछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्त सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ।

जसअनुसार पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ। तर, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्नेछ। उनीहरूका लागि अध्यागमन विभागले अनअराइभल भिसा दिनेछ। पूर्वस्वीकृतिका लागि सम्बन्धित एजेन्सीले पेश गरेको पर्वतारोहण गर्ने पर्यटकको लागि पर्यटन विभाग र पदयात्रा गर्ने पर्यटकका लागि नेपाल पर्यटन बोर्डमार्फत अध्यागमन विभागमा सिफारिस गर्नुपर्ने शर्त राखिएको छ।

नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ। यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ। अनअराइभल भिसा प्राप्त हुने बिन्दुमै नेपाल आउन प्राप्त गरेको भिसा वा पूर्वस्वीकृतिको कागजात समेत हेरिने भएको छ। कम्तीमा सात दिन क्वारेन्टाइनमा बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य गर्नुपर्छ र त्यसको कागजातसमेत सोही समयमा देखाउनुपर्ने भएको छ। नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजात समेत अनिवार्य गरिएको छ ।

नेपालमा आउने सबै पर्यटक सात दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ। क्वारेन्टाइनमा बसेको पाँचौ दिनमा पर्यटककै खर्चमा पीसीआर परीक्षण गरिनेछ। उक्त परीक्षणमा नेगेटिभ आएमा मात्र पदयात्रा र पर्वतारोहणमा जान सकिने गरी प्रावधान बनाइएको छ। नेगेटिभ नआएसम्म भने होटेलबाट बाहिर जान नपाउने गरी शर्त तोकिएको छ।नेपालमा पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोना सम्बन्धी बिमा गर्नुपर्ने भएको छ।

नेपालमा पर्वतारोहण वा पदयात्रा गर्दा नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा स्वीकृत स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्छ। पर्यटकले यसअघि विभागबाट जारी भएका निर्देशनहरू समेत पालना गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*