गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’ जिम्मा नेपाल एयरलाइन्सलाई
काठमाडौं। भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल एयरलाइन्सले पाउने भएको छ। काठमाडौं विमानस्थलमा पनि व्यावसायिक ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाइरहेको नेपाल एयरलाइन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले बिना प्रतिस्पर्धा भैरहवामा पनि दिने भएको हो।
विमानस्थल आयोजनाको भौतिक निर्माणको काम सम्पन्न हुनै लाग्दा प्राधिकरणले सञ्चालनका लागि आवश्यक अन्य तयारी गर्ने क्रममा ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी नेपाल एयरलाइन्सलाई दिने सहमति गरेको छ। विमानस्थल सञ्चालनको जिम्मा विदेशी कम्पनीलाई दिने प्रक्रियाबाट पछि हटेको प्राधिकरणले आफैं सञ्चालन गर्ने भएपछि ग्राउन्ड ह्यान्डलिङका लागि सरकारी स्वामित्वको नेपाल एयरलाइन्सलाई सिधै दिने भएको हो।
नेपाल एयरलाइन्सलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी दिनका लागि सहमति भइसकेको र सम्झौताका लागि गर्नुपर्ने अन्य कामहरू बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमानस्थल सञ्चालनका लागि जर्मन कम्पनी इच्छुक भए पनि सरकारले सिधै नदिने भन्दै पछि हटेको थियो। सरकारले विदेशी कम्पनीलाई नदिने निर्णय गरेपछि प्राधिकरणले आफ्नो तयारी अघि बढाएको छ।
नेपाल एयरलाइन्सले काठमाडौं विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक राम्रो आम्दानी गरिरहेको छ। उडानबाट घाटा भए पनि ग्राउन्ड ह्यान्डलिङबाट नाफा आर्जन गरेर संस्था चलाउन सजिलो भएको त्यहाँका अधिकारीले बताउँदै आएका छन्। पछिल्लो समय खुला प्रतिस्पर्धाबाट ग्राउन्ड ह्यान्डलिङ सेवाको अनुमति दिनुपर्ने आवाज उठे पनि सरकारी कम्पनीलाई सिधै दिंदा विवाद नहुने भएकाले प्राधिकरण नेपाल एयरलाइन्सलाई दिने निष्कर्षमा पुगेको हो।
भौतिक निर्माणका काम सकिए पनि फिनिसिङको काम बाँकी रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७७ को चैतसम्म सञ्चालनका लागि योग्य हुने अनुमान गरिएको छ। यद्यपि सरकारले भने २०७७ कै पुसभित्र सञ्चालन गरिसक्ने घोषणा गरेको छ।


















