सम्पत्ति विवरण नबुझाउने १७ हजार कर्मचारीलाई कारवाही

वेलकम खबर
अशोज ९, २०७७

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाएको भन्दै १६ हजार ७४८ कर्मचारीलाई कारवाही गर्न निर्देशन दिएको छ।

आयोगले सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पद धारण गरेका ती कर्मचारीलाई कारवाही गर्ने निर्णय गरेको हो। विहीबार बसेको आयोगको पदाधिकारी बैठकले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८’ को दफा ३१ क उपदफा ९२० बमोजिम उनीहरूलाई जनही रु पाँच हजार जरिवाना गर्ने निर्णय गरेको छ। आयोगका अनुसार विभिन्न निकायमा कार्यरत कर्मचारी र पदाधिकारीलाई जरिवाना कारवाही गर्ने निर्णय भएको र केहीलाई सम्बन्धित निकायमा नै लेखी पठाइएको छ।

आयोगका अनुसार कारवाहीमा पर्नेमा सङ्घीय तहका निजामती कर्मचारीतर्फ दुई हजार ५०४, नेपाल प्रहरीतर्फ १११, शिक्षकतर्फ ७ हजार ६१३, अन्य पदाधिकारी कर्मचारी एक हजार ४३२, प्रदेश तहका ५५४ र स्थानीय तहका चार हजार ५३४ जना कर्मचारी छन्।

सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले आर्थिक वर्ष शुरु भएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण तोकेको निकाय वा अधिकारीसमक्ष पेश गर्नु पर्ने व्यवस्था छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*