त्रिवि र नेविसंघबीच २३ बुँदे सहमति, असोज २५ भित्र परीक्षा तालिका प्रकाशन गर्ने
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) वार्ता समिति र आन्दोलनरत नेपाल विद्यार्थी संघ त्रिवि समितिबीच २३ बुँदे सहमति भएको छ। त्रिवि वार्ता समितिका तर्फबाट गंगाबहादुर मगर र नेविसंघकातर्फबाट सम्झना केसी, जगदिश भट्ट, हरि आचार्य र श्यामचन्द्र अधिकारीबीच विहीबार सहमति भएको हो।
उनीहरूबीच कोभिड-१९ का कारण स्थगित भएका त्रिविका परीक्षाहरू आगामी मंसिर तेस्रो सातदेखि सुरु हुने गरी असोज २५ गतेभित्र परीक्षाको तालिका प्रकाशन गर्ने सहमति भएको छ। यस्तै टीयू भिजन २०३० को कार्यान्वयनमा अग्रसरता लिँदै त्रिविका शैक्षिक प्राज्ञिक एवम् भौतिक सुधारमा जोड दिने विषयमा पनि सहमति भएको छ।
यता नेविसंघ त्रिवि समितिले पनि त्रिविका पदाधिकारी निषेध लगायतका सम्पूर्ण आन्दोलन फिर्ता लिएको छ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृ संस्था नेविसंघले पछिल्लो सयम विभिन्न माग राखेर प्रदर्शन गर्दै आएको थियो।


















