वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफन्तलाई रकम पठाउन पाउने

वेलकम खबर
अशोज ६, २०७७

काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन पाउने भएका छन्। नेपालका रेमिट्यान्स कम्पनीहरूले डिजिटल माध्यमबाट रकम भित्र्याउन सक्ने व्यवस्था गरेसँगै अब यो सुविधाको सुरुवात भएको हो।

यो व्यवस्था अन्तर्गत राष्ट्र बैंकबाट अनुमति लिएर नेपालमा सञ्चालन भइरहेका  बैंक तथा वित्तीय संस्था तथा बिप्रेषण प्रदायक कम्पनीहरूले विदेशका भुक्तानी प्रदायक संस्थासँग सहकार्य गर्नेछन्। ती संस्थाहरूले नेपालमा सञ्चालनमा रहेका भुक्तानी सेवा प्रदायक संस्थासँग आबद्ध भई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल वालेटमार्फत स्वदेशी मुद्रामा भुक्तानी प्रदान गर्नेछन्।

राष्ट्र बैंकको विप्रेषण विनियमावली २०७६ को साविकका व्यवस्थाका साथमा अतिरिक्त तोकिएको सर्त र सीमा सहित सम्झौता गरी विद्युतीय माध्यमबाट नेपालमा रकम पठाउन सक्ने व्यवस्था गरिएको हो। यसैबीच नेपाल राष्ट्र बैंकले अनलाइन कारोबार गरेबापत विदेशबाट भित्रिने मुद्रा नेपालका बैंकको खातामा रकमान्तर हुने व्यवस्था समेत ल्याएको छ।

यो व्यवस्थाले विदेशी रकमलाई नेपालीमा रकमान्तर गर्न सघाउ पुग्ने विश्वास गरिएको छ। हुन्डी र अन्य अनधिकृत माध्यमबाट आउने रकमले अहिले ठूलो समस्या सिर्जना गरेको छ। बैंकको सूचना अनुसार सूचना प्रविधि सम्बद्ध दक्षता र विज्ञताको निकासी बिक्री वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामाग्रीहरू राखिदिएबापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक र व्यापारिक कारोबार बापत प्राप्त हुने रकम बैंकिङ प्रणालीबाट ल्याउने व्यवस्था भएको छ।

यो व्यवस्थाले युट्युब लगायत सामाजिक सञ्जाल, अनलाइन कमर्स, सफ्टवेयर खरिदबिक्री आदिबाट हुने आम्दानीलाई बैंकिङ प्रणालीमा ल्याएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*