मन्त्रिपरिषद्को बैठक बस्दै, महत्वपूर्ण निर्णय हुने
काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान साढे ९ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकका एजेण्डाबारे केही जानकारी नभएको तर बैठक साढे ९ बजे बोलाइएको स्रोतले जनाएको छ। स्रोतका अनुसार बालुवाटारमा बस्ने आजको बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिका विषयमा निर्णय गर्न सक्छ।
उर्जामन्त्री वर्षमान पुनले एक हप्ताअघि नै मन्त्रिपरिषद्मा कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रस्ताव लगेका थिए। यस्तै आजको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको म्याद एकवर्ष थपको निर्णय गर्ने सम्भावना छ।
सोमबार बसेको निर्देशक समितिको बैठकले प्राधिकरणको म्याद एकवर्ष थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको थियो। त्यस्तै विभिन्न मन्त्रालयका प्रस्ताव बमोजिम विभिन्न नीतिगत निर्णय हुने बुझिएको छ।
मध्यान्ह साढे १२ बजे नेकपा सचिवालयको बैठक पनि बस्ने भएकाले प्रधानमन्त्रीले आज बिहानै मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।



















