दुईवटा रेल आज नेपाल आउँदै
काठमाडौं। कोरोनाको महामारी र त्यससँगै सुरु भएको लकडाउनका कारण भारतमा अड्किएको दुईवटा रेल आज नेपाल आउने भएको छ। सात महिनादेखि भारतको बिहारस्थित हाजीपुरमा अडकिएको नेपाली ब्रोडगेज रेल शुक्रबार मध्याह्न जनकपुर आइपुग्ने भएको हो।
नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो। बिहीबार जयनगर पुगेको रेल शुक्रबार जनकपुर पुग्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ।
नेपालले किनेका यी दुई रेल परिक्षणका लागि मात्रै नेपाल ल्याउन लागिएको हो। परीक्षणपछि रेल पुनः भारत नै फर्किनेछ। सञ्चालनमा नआएसम्म नेपाली रेल जयनगरस्थित स्टेसनमै रहने रेल्वे कम्पनीले जनाएको छ। त्यसको सुरक्षाको जिम्मा तत्कालका लागि भारतीय कर्मचारीलाई नै दिइएको छ।
रेलको परीक्षणका लागि चालक दलका चार सदस्यसहित २० जना भारतीय प्राविधिक जनकपुर आइपुगेका छन्। उनीहरूमध्ये केही रेलसँगै फर्किनेछन् भने केही जनकपुरमै बस्नेछन्।
रेलमार्ग तयार भएसँगै रेल किनेर नेपाल ल्याए पनि तत्काल भने सञ्चालन नहुने भएको छ। कोरोनाका कारण तत्काल सञ्चालन नगरिने रेल्वे कम्पनीले जनाएको छ । जनकपुरदेखि बर्दिबाससम्म भारतको सहयोगमा निर्माण भइरहेको रेलमार्गको पहिलो चरणमा जनकपुर–जयनगरसम्म ३४ किलोमिटर रेल्वे सञ्चालन गर्ने तयारी छ।
दोस्रो चरणमा जनकपुर–कुर्थादेखि बिजलपुरासम्म ४६ किलोमिटरमा सञ्चालन गरिनेछ । त्यस क्षेत्रमा भने अहिले रेलमार्ग निर्माण भइरहेको छ।


















