५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा वायुसेवा सञ्चालक असहमति

वेलकम खबर
भदौ ३१, २०७७

काठमाडौं। वायुसेवा सञ्चालकहरूले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा असहमति जनाएका छन्। बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा १ असोजमा उडान खुला गर्ने निर्णय सार्वजनिक भएपनि सोही दिन जहाज उड्न नसक्ने र ५० प्रतिशत यात्रु राखेर समेत उडान सम्भव नभएको अडान दोहोर्‍याएका छन्।

मन्त्रालयले भने यसअघि तोकिएको सबैभन्दा माथिल्लो दरमा भाडा लिन पाउने गरी सहमति गर्न प्रस्ताव गरेको छ। तर, व्यवसायी भने भर्खरै महामारीका कारण घरभित्रै थुनिएर बसेका यात्रुले महँगो भाडा तिरेर यात्रा गर्न नसक्ने भन्दै असहमति जनाएका हुन्।

यसअघि सरकारले मंगलबार १ असोजबाट हवाई उडान खुल्ने बताएको थियो। तर, मन्त्रालयले मंगलबार नै वायुसेवा कम्पनीहरूलाई बुधबार छलफलका लागि गरिएको आमन्त्रणमा भने मन्त्रिपरिषद्बाट ५ असोजबाट उडान गर्ने उल्लेख छ। यसरी पटकपटक फरक-फरक निर्णयले वायुसेवा सञ्चालक नै अन्यौलमा परेको व्यवसायीले बताएका छन्।

सोहीअनुसार वायुसेवा सञ्चालकहरूले आजै अहिलेकै अवस्थामा सेवा सञ्चालन गर्न नसक्ने व्यहोराको पत्र दर्ता गर्दैछन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*