नेकपा स्थायी कमिटी बैठक सकियो

वेलकम खबर
भदौ २६, २०७७

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। शुक्रबार बिहान ११ बजेबाट सुरु भएको बैठक सम्पन्न भएको हो। नेकपाको स्थायी कमिटी बैठक असार १८ गतेबाट स्थगित हुँदै आएको थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षले तयार पारेको प्रस्तावमा १३ जना स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेको बताइएको छ।

आजको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ लगायताका नेताहरुले बोलेका थिए। बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा गठित महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको समस्या समाधान कार्यदलको सुझावलाई थप गृहकार्य गरी ठोस कार्ययोजनाका रुपमा प्रस्ताव प्रस्तुत गरिएको थियो।

पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो। गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष दाहालले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव छन्।

नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठकमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएपछि कार्यदल गठन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु