गौतमबुद्ध विमानस्थलको ९२ प्रतिशत काम सकियो (फोटो फिचर)

सिबी अधिकारी
भदौ २६, २०७७

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब, विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ । हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगती ६३ प्रतिशत रहेको छ ।
कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यवसायिक सञ्चालनमा व्यस्त हुनेथियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको छ । अन्य भौतिक संरचनाका काम बन्दाबन्दीको अवधिमा पनि निरन्तर भए । विमानस्थलको प्राविधिक काम मात्रै बाँकी छ । उपकरण जडानका लागि विदेशबाट प्राविधिक जनशक्ति झिकाउनुपर्ने भएकाले अहिले निकै चुनौतिपूर्ण बनिरहेको छ ।


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले विमानस्थलको भौतिक संरचना निर्माणको काम सकिएको तर प्रविाधिक काम निकै चुनौतिपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“विमानस्थलको भौतिक संरचनाको काम लगभग सकिएको छ । टर्मिनल भवनको फिनिसिङको काम पनि सकिएको छ । अब, मूख्य काम प्राविधिक उपकरण जडानको हो अधिकांश उपकरण आइसकेका छन् । अन्तर्राष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन चुनौति भइरहेको छ ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल निर्माणको कामलाई प्रभावकारी बनाउन र व्यवस्थापकीय कार्यको सहजिकरणका लागि पटक–पटक स्थलगत निरीक्षण र निर्देशन दिदैँ आउनुभएको छ ।
पछिल्लो पटक पर्यटन मन्त्रालयको वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै मन्त्री भट्टराईले विमानस्थल निर्माणको कामले तीब्रता पाएको र बाँकी प्राविधिक कामलाई पूर्णता दिन आवश्यक पहल कदमी भइरहेको जानकारी दिनुभएको थियो ।


गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरूआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को शुरूमा उद्घाटन भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरूपमा प्रगति भयो ।
विमानस्थलको टर्मिनल भवन भित्र उपकरण जडानको काम बाँकी छ । व्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ ।


पछिल्लो पटक सन् २०२० को मार्च महीनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो ।
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।


अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालन योग्य भएको ६ महीना अगाडि नै अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ । निर्माणका हिसाबले ६ महीनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन अर्को ६ महीना अर्थात् एक वर्षको अवधि लाग्नेछ ।
पछिल्लो पटक सन् २०२० को मार्च महीनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थिया े। प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो ।
कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।
विमानस्थलमा हालसम्मको उपलब्धी
विमानस्थलको धावनमार्ग, ट्याक्सी वे एवम् पप्रोनको सिभिल निर्माण तर्फको कार्य सम्पन्न भई वित्तुतीकरण सम्बन्धि कार्य चालु रहेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन। प्रशासनिक भवन, अग्नि निवारण भवन तथा कन्ट्रोल टाव सम्बन्धि कार्यको संरचना निर्माणको कार्य सम्पन्न भई हाल उपकरण जडान कार्य चालु रहेको छ ।
विमानस्थलको भित्रि तारबार र नाला बनाउने काम पनि अन्तिम चरणमा छ । आइसिबी जिरोटू अन्तर्गतका उपकरणहरु आयोजना स्थलमा आइसकेको र जडान पूर्व तयार हुनुपर्ने भौतिक संरचना तयार भइरहेको छ ।


बन्दाबन्दीमा भएका कार्य
बन्दाबन्दीको अवधिमा विमानस्थलको काम निरन्तर भयो । धावन मार्ग र जहाज पार्किङ्ग क्षेत्र जोड्ने लिंक टयाक्सी वे निर्माण सकियो । पेरिमिटर सडक, फेन्सिङ्ग निर्माण, नाला बनाउने, धावनमार्गको वरिपरि खाली स्थानमा माटो भर्ने कार्य भएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एयर कन्डिसन, रंग रोगन सम्बन्धि कार्य, अग्नि नियन्त्रण तथा उपकरण नियन्त्रणका लागि संरचना निर्माण गरियो । चीनमा तयार भएको कन्भेर बेल्ट, धावनमार्ग एवम् ट्याक्सी वेको वित्रुतीय सामग्री वत्तीलगायत सामग्री आइसकेको छ । हाल उपकरण जडानका लागि ३५ जना चिनियाँ दक्ष प्राविधिक÷इन्जिनियर जनशक्ति ल्याउनका लागि आवश्यक कागजातसहित सम्बन्धित निकायमा पत्राचार गरिएको छ ।


हार्डवेर जन्य सामग्री सिमेन्ट, ढण्डी, मार्वल, टायल्स, आल्मुनियम आपूर्ति भइसकेको छ । बन्दाबन्दीको अवधिमा चिनियाँ २९ सहित औसतमा करिब २७५ जना कामदारले दैनिक कार्य गरेका थिए । विमानस्थलले उक्त अवधिमा करिब ४.५ प्रतिशत प्रगती हासिल गरेको थियो ।रासस

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*