रियाले स्विकारिन् लागूऔषध प्रयोग गरेको, २५ सेलिब्रेटीलाई सोधपुछ गरिने
एजेन्सी। नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रिया चक्रवर्तीसँग आज लगातार तेस्रो दिन सोधपुछ गरिरहेको छ। रियाले सोधपुछको तेस्रो दिन आफूले ड्रग्स लिने गरेको कुरा स्विकारेकी छिन्। यसअघि रियाले आफूले कहिले पनि ड्रग्सको सेवन नगरेको बताउँदै आएकी थिइन्।
रियाले ती बलिउड पार्टीको नाम पनि भनेकी छिन् जहाँ ड्रग्सको सेवन गर्ने गरिन्छ। एनसीबीले सुशान्तका सह–कलाकार र अभिनेतालाई पनि समन गर्ने बताइएको छ।
रियालाई आज ड्रग्सको मामिलामा दिल्लीबाट आएको एसआइटी समूहले सोधपुछ गरेको हो। रियालाई शोविक र मिरान्डाको अगाडि राखेर सोधपुछ गरिएको पनि बताइएको छ। उनी आज पक्राउ पर्नसक्ने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले बताएका छन्।
रिया चक्रवर्तीको घरबाट एनसीबीले लगेका विद्युतीय उपकरणले उनीबारे निकै ठूलो खुलासा गरेको छ। अनुसन्धानमा बताइए अनुसार सन् २०१७–२०१८–२०१९ मा रियाको ड्रग्स मण्डली निकै सक्रिय थिए।
अनुसन्धान एजेन्सीले घरबाट लगेको विद्युतीय उपकरणमा ड्रग्सको मण्डलीसँग जोडिएका तस्बिर, भिडियो, ह्वाट्सएप च्याट, एसएमएस बरामद गरेको छ। यसमा बलिउडका २५ कलाकार पनि जोडिएका छन्। स्रोतका अनुसार एनसीबीले चाँडै नै यी बलिउड कलाकारलाई समन गर्नेछ।



















