ललितपुरमा ५ जनाभन्दा बढी भेला हुन नपाइने
ललितपुर। मछिन्द्रनाथको रथ तान्ने विवादले अशान्त बनेको ललितपुरमा शुक्रबार लगाइएको कर्फ्यू १० बजे राति सकिए पनि आगामी ६ दिनसम्मका लागि ५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने आदेश गरिएको छ। कर्फ्यू आदेश सकिनुअघि नै ललितपुर जिल्ला प्रशासन कार्यालयले शनिबारदेखि ६ दिनसम्मका लागि यस्तो आदेश जारी गरेको हो।
ललितपुर जिल्ला प्रशासनको विज्ञप्तिअनुसार रातो मच्छिन्द्रनाथ रथ रहेको आसपास क्षेत्र पूर्व मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिम ललितपुर महानगरपालिका कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड) र उत्तर बखुण्डोल चोकमा भेला वा जम्मा हुन पाइने छैन।
यस्तै, मीननाथको रथ रहेको आसपास क्षेत्र, पूर्व मंगलबजार चोक, पश्चिम मदन स्मारक स्कुल अगाडिको चोक, दक्षिण पूर्णचन्डी मन्दिर र उत्तर पिपवहालसम्म भेला जम्मा हुन पाइने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।



















