नेकपा सचिवालयको बैठक बस्दै

वेलकम खबर
भदौ १८, २०७७

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ। दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा राष्ट्रियसभाको रिक्त पदमा सिफारिस र कार्यदलको प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची छ।

आज बस्ने सचिवालय बैठकले पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनलाई स्वामित्व ग्रहण गर्ने र स्थायी कमिटीमा पेस गर्न प्रस्तावको रूप दिने बुझिएको छ।

कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न भदौ १३ गते नै सचिवालय बैठक बोलाइएको थियो। रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले सचिवालय बैठक भदौ १८ गतेलाई सारिएको थियो।

सचिवालयले स्थायी कमिटी बैठक बोलाउने सम्भावना रहेको पनि स्रोतले जनाएको छ। असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक साउन १८ गतेदेखि अवरुद्ध छ।

पूर्वमाओवादी केन्द्रका नेताहरूले पनि स्थायी कमिटी बैठकलाई लामो समयसम्म अवरुद्ध राख्न नहुनेमा जोड दिएका छन्। यस विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि ध्यानाकर्षण गराइएको उनीहरूको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*